Like us!
Follow us!
Connect us!
Watch us!

न्यून चापीय रेखा नेपाल नजिक : देशभर वर्षा हुने

अर्थ संसार

बुधबार, २५ असार २०७६, १३ : १२ मा प्रकाशित

न्यून चापीय रेखा नेपाल नजिक  : देशभर वर्षा हुने

अर्थ संसार, काठमाडौं– मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई/तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक\दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।

त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।

यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको