Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै लगानीमा गाउँमै स्वरोजगार : तेह्र युवाको सामूहिक लगानी

रबिन दङगाल

सोमबार, २३ असार २०७६, ११ : १२ मा प्रकाशित

आफ्नै लगानीमा गाउँमै स्वरोजगार : तेह्र युवाको सामूहिक लगानी

अर्थ संसार, खोटाङ- साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् ।
 
उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । यसभन्दा अघि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध उनीहरु आफ्नै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन शुरु गरेका हुन् । 

पौरखी माछापालन समूह नामको आधिकारिक संस्था दर्ता गरेर शुरु गरिएको पोखरीमा पहिलो चरणमा २२ हजार माछाका भुरा हालिएको संस्थाका सचिव सन्तराज राईले बताए । “अहिले एउटा माछा आधा केजीसम्मको भएको छ”, उनले भने , “आगामी भदौ पहिलो हप्तादेखि बिक्री गर्ने योजना बनाएका छौँ ।”

प्रतिव्यक्ति रु एक हजार ८०० का दरले लगानी गरेर शुरु गरिएको माछापोखरीमा अहिले रहरलाग्दा किसिमको माछा देख्न सकिन्छ । व्यावसायिकरूपमा लगाइएको माछा हेर्न स्थानीयदेखि बाह्य कृषकसमेत आउने गरेको उनीहरुको भनाइ छ । 

प्रत्येक दिन बिहान, दिउँसो र बेलुका गरी दिनमा तीनपटक घाँस लगाउनुका साथै हेरचाह गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष महेन्द्र राईले बताए । “अहिले हामी आफैँले समय मिलाएर हेरचाह गर्दै आएका छौँ”, उनले भने, “आगामी दिनमा अन्य युवालाई समेत रोजगारी दिने उद्देश्यले थप विस्तार गर्ने तयारी गरिएको छ ।”

चौध रोपनी क्षेत्रफल जग्गा रहेको उक्त ठाउँमा अहिले पहिलो चरणमा सात रोपनी जग्गामा मात्र पोखरी निर्माण गरेर माछापालन गरिएको छ । अहिलेसम्म कसैको सहयोगविनै शुरु गरिएको माछापालन व्यवसायलाई आगामी भदौसम्ममा थप विस्तार गर्ने तयारी गरिएको समूहले जनाएको छ ।
 
प्रतिकेजी रु ४५० देखि ५०० सम्ममा पोखरीमै बिक्री हुने उक्त कमनकार्प र ग्रासकार्प प्रजातिको माछा रतन्छाका सबै भू–भागमा हुने साकेला गाउँपालिकाका कृषि प्राविधिक गणेश राईले बताए । “रतन्छामा भौगोलिकरूपमा पारिलो घाम र पर्याप्त पानीको स्रोत तथा माछाका लागि उपयुक्त घाँस पाइन्छ”, उनले भने, “स्थानीय युवाले शुरु गरेको व्यावसायिक माछापालन छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।”

स्थानीय युवा आफैँले कुटो र कोदालो प्रयोग गरेर निर्माण गरिएको माछापोखरीमा अहिलेसम्म नगद लगानी रु एक लाख ५० हजार मात्र भएको जनाइएको छ । उनीहरुले दुई वर्षअघि व्यावसायिक माछापालनका लागि पोखरी निर्माण शुरु गरे पनि गत वर्ष मात्रै सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित मत्स्यपालन तथा प्रवद्र्धन केन्द्रबाट खरीद गरेर ल्याइएको भुरा लगाएका हुन् ।
  
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रतन्छाका स्थानीयवासीले यसअघिदेखि नै आ–आफ्नो घर नजिकै पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । उनीहरुले लामो समयदेखि माछापालन व्यवसाय गर्दै आए पनि  संस्थागतरूपमा दर्ता गरेका थिएनन् ।
 
माछाका लागि उर्वरभूमि रहेको रतन्छालाई माछाको स्रोत केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना बनाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । गाउँपालिका प्रमुख खड्काका अनुसार रतन्छामा यस वर्ष मात्रै दुई लाख बढी कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा वितरण गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको