Like us!
Follow us!
Connect us!
Watch us!

उच्च शिक्षा पढ्न बाहिर जाने क्रम घट्यो

रबिन दङगाल

शुक्रबार, २० असार २०७६, १३ : १२ मा प्रकाशित

उच्च शिक्षा पढ्न बाहिर जाने क्रम घट्यो

अर्थ संसार, चितवन- उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी काठमाडौँ, पोखरालगायका शहरमा अध्ययनका लागि जाने गर्दथे ।

शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार प्रवेशिका उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्यरुपमा काठमाडौँ जाने प्रचलन भए पनि हटेर गएको सापकोटाको भनाइ छ । बाहिरका कलेजहरुले जिल्लामा मान्छे खटाएर विद्यार्थी सङ्कलन गर्ने गरेको सापकोटा बताए ।

उनका अनुसार विद्यार्थी पठाएबापत रकमसमेत पठाउनेले पाउने गरेको सुन्नमा आउँथ्यो । पछिल्लो समय उच्च मावि आफ्नै निगरानीमा राखेर पढाउनुपर्छ र बाहिर पठाउनु आवश्यक छैन भन्ने अभिभावकले बुझेको सापकोटाको भनाइ छ ।

शिक्षा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार ४६ वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । गत वर्षसम्मको तथ्याङ्कलाई हेर्दा १९ वटा निजी उच्चमावि सञ्चालनमा रहेका छन् । यस वर्ष थपिएकाहरुको तथ्याङ्क आइनसकेको सुवेदीले बताए । पढाइमा प्रतिस्पर्धा र राम्रो नतिजा आउन थालेपछि विद्यार्थी बाहिर पढ्न जान छाडेको सुवेदीको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक दयाराम पौडेल यहाँको शिक्षा राम्रो भएसँगै विद्यार्थी बाहिर जान छाडेको र बाहिरबाट विद्यार्थी लिन आउनेहरु घटेको बताए । पौडेलले जिल्ला छाडेर योभन्दा राम्रो शिक्षा नपाउने भएकाले बाहिर जाने विद्यार्थी न्यूनमा झरेको जानकारी दिए । 

सोही क्याम्पसका अर्का प्राध्यापक डा हरिहर पौडेल तीन–चार वर्षयता राम्रो अङ्क ल्याउने विद्यार्थी यहीँ पढ्ने गरेको बताए । पहिले प्रथम श्रेणीमा प्रवेशीका उत्तीर्ण हुने धेरैजसो बाहिर जाने भए पनि अहिले जिपिए ४ ल्याउने अधिकांश विद्यार्थी यहीँ पढ्ने गरेको पौडेलले जानकारी दिए ।

यस वर्ष जिल्लाका ११ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन् । राजधानीका ठूला स्कुलको भन्दा आधा कम शुल्कमा घरकै खाना खाएर त्योभन्दा राम्रो शिक्षा यही पाउने भएपछि किन बाहिर पठाउने भन्ने अभिभावकमा छाप पर्न थालेको छ । 

निजी उच्च माविहरुको छाता संस्था हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताल राष्ट्रिय रुपमा चितवनका विद्यार्थीहरुको नतिजा राम्रो आउन थालेपछि अभिभावकहरुले विद्यार्थी बाहिर पठाउन छाडेको बताए । उच्च मावि उत्तीर्ण भएपछि एमबिबिएस, कृषि, इञ्जिनीयरिङ लगायतका प्रवेश परीक्षा दिएर मात्र पढ्न पाउने क्याम्पसहरुमा पनि यहीँका विद्यार्थीले नाम निकाल्ने गरेको धितालको भनाइ छ ।

गुणस्तरकै कारण जिल्ला छाडेर बाहिर पढ्न जाने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा कम रहेको धितालले जानकारी दिए। अरोमा कलेजका प्रिन्सिपल शेरबहादुर क्षेत्री यहाँका उच्च माविहरुले गुणस्तर राम्रो दिएपछि प्राप्त भएको नतिजाका कारण विद्यार्थी बाहिर जान छाडेको बताए । पहिलेको भन्दा बाहिर जाने विद्यार्थीको सङ्ख्या ९० प्रतिशत कम भएको उनको भनाइ छ । 

गुणस्तरका लागि चितवन छाड्नु नपर्ने क्षेत्रीको दाबी छ । उहाँका अनुसार यहाँका बाहिर जानेभन्दा बाहिरी जिल्लाबाट यहाँ आउने क्रम बढ्दो रहेको छ । नवलपरासी, गोर्खा, लमजुङ्, तनहुँ, धादिङ्, बाग्लुङ्, पर्वत, स्याङ्जा, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी लगायतका जिल्लाबाट विद्यार्थी चितवन आउने क्रम बढेको क्षेत्रीले जानकारी दिए । 

जिल्लामा राम्रो शिक्षा पाइन्छ र स्नातकका लागि पनि अवसर छन् भन्ने सन्देश प्रवाह भएसँगै यहाँका विद्यार्थी रोकिएको र बाहिरबाट आउने क्रम बढेको हिसानका केन्द्रीय सदस्य राजेश्वर खनालले जानकारी दिए। सस्तो, उच्च गुणस्तर र घरमा नै बसेर पढ्न पाउने भएपछि किन बाहिर जाने अधिकांश अभिभावकको धारणा बनेको खनालको भनाइ छ । आर्थिक अवस्था कमजोर हुनेका लागि पनि पढ्ने अवसर यहाँ रहेको नारायणी पब्लिक कलेजका अध्यक्षसमेत रहनुभएका खनालले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको