Like us!
Follow us!
Connect us!
Watch us!

जिग्री र पाँडेले गरे शुक्रबहादुरको नयाँ घर हस्तान्तरण

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १७ : ३५ मा प्रकाशित

जिग्री र पाँडेले गरे शुक्रबहादुरको नयाँ घर हस्तान्तरण

अर्थ संसार, काठमाडौं- चर्चित हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्ष देखि उनले तुईन तान्दै आइरहेका थिए । आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार जिग्री पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । आज भन्दा ६ महिना अघि उनले तुईन चलाउने बाजेको फिल्मीकुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए । चर्चित हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईले घर र आफूलाई सधै सफा सुग्गर राख्नुहोला । छिमेकी दाजुभाईले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ।’

यता जिग्रीले एउटा पून्यको काममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो । उनले सञ्चारकर्मी श्यामहरिलाई आगामि दिनमा पत्रकारितासँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिन आग्रह गरे ।

उता शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ।’ हाल उनीसँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए । घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको