Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

रबिन दङगाल

सोमबार, ०९ असार २०७६, १० : ३८ मा प्रकाशित

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

अर्थ संसार, राँझा-  बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए । 

वर्षात्ले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको छ । गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।

अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । बाँकेमा आइतबार १६० दशमलव आठ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय राँझाका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिएका  छन ।
अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरबारीटोल, गणेशपुर क्षेत्र, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको