Like us!
Follow us!
Connect us!
Watch us!

प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी

आइतबार, ०८ असार २०७६, १९ : १६ मा प्रकाशित

प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी

वासिङ्टन – संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ ।
यही साता बहराइनमा आयोजना गरिने सम्मेलनमा सार्वजनिक गरिने उक्त योजनाबाट एक दशकभित्र दश लाखभन्दा बढी रोजगारी सिर्जना गरिने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनीका लागि अभूतपूर्व लगानी जुट्ने विश्वास गरेको छ । साथै, पश्चिमी किनारा र गाजापट्टीको पूर्वाधार, शिक्षा र आन्तरिक सुशासनमा नाटकीय रुपमा सुधार आउने अपेक्षा पनि गरिएको छ ।

राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुश्नरको नेतृत्वमा खासगरी प्यालेस्टाइन समस्याको दिर्घकालीन समाधान खोज्न अमेरिकी नीति तय गर्ने जिम्मेवारी दिइएको थियो । सोचेभन्दा निकै ढिलो सार्वजनिक गर्न लागिएको यस नीतिमा राजनीतिक विषयलाई भने थाँती राखिएको छ ।

तर प्यालेस्टिनी सरकारले भने बहराइनको कार्यशालामा सहभागिता नजनाउने घोषणा गरेको छ । प्यालेस्टिनीहरुले कुश्नरको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई पैसाको लोभ देखाएर खरिद गर्न खोजेको आरोप लगाएका छन् ।
प्यालेस्टिनीहरुले स्वतन्त्र राज्य बाहेक अन्य कुनै पनि कुरा अमेरिका वा इजरायलसँग सौदाबाजी नगर्ने जनाएका छन् ।

ह्वाइट हाउसले भने हाल अघि सारिएको योजना प्यालेस्टिनी जनताका लागि आजसम्मकै सबैभन्दा महत्वाकाँक्षी र ठोस अन्तर्राष्ट्रिय प्रयत्न भएको बताएको छ । उक्त योजनाका बारेमा बहराइनमा खाडी क्षेत्रका सम्पन्न मुलुकका अर्थमन्त्रीहरुबीच अझ विस्तारमा छलफल हुँदैछ ।

संयोजक कुश्नरले जारी गर्नुभएको वक्तव्यमा “समृद्धिका लागि शान्ति” नारा दिइएको यो योजना प्यालेस्टिनी जनताको उज्ज्वल र समृद्ध भविष्यका निम्ति महत्वपूर्ण रहेको उल्लेख छ ।ह्वाइट हाउसले प्यालेस्टिनी जनताका निम्ति एक दशकभित्र ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिने जनाएको छ । यसबाट प्यालेस्टाइनको खूद गार्हस्थ्य उत्पादन दोब्बर हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय दाताबाट संकलन गरिने रकमको व्यवस्थापन बहुराष्ट्रिय विकास बैंक मार्फत गरिने छ, र यो रकम प्यालेस्टिनी सरकारलाई सोझै दिइने छैन ।

वरिष्ट प्यालेस्टिनी अधिकारी हनान अश्रावीले उक्त योजना अस्वीकार्य रहेको बताउनुभयो । उहाँले संयुक्तराज्य अमेरिकाले प्यालेस्टिनीको भलाईका लागि बरु इजरायलमाथि दबाब दिनु उचित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाजाको घेराबन्दी इजरायलले हटाओस्, हाम्रो जमिन, स्रोतसाधन र रकम खोस्ने काम इजरायलले बन्द गरोस्, हामीलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवसर देओस् । यति गरिए प्यालेस्टाइन आफैं सक्षम हुनेछ ।” रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको