Like us!
Follow us!
Connect us!
Watch us!

वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

रबिन दङगाल

शुक्रबार, ०६ असार २०७६, ११ : २४ मा प्रकाशित

वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

अर्थ संसार, बर्दिवास- बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै बर्दिवास नगरपालिकाका बस्तीमा १० भन्दा बढी घर भत्काइसकेको छ । बर्दिवास ३, ४, ५ र ८ नं वडामा हात्तीको बिग्याइँ निकै बढेको नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले बताए । बर्दिवास-३ को रजवास, पर्साहीधाप र कालापानी वडा नं ४ को भब्सीटोल, वडा नं ५ को चेरु, सोनापेटी र गणन्ता एवं वडा नं ८ को विजयबस्तीमा जङ्गली हात्तीको समूहले यसै साताभित्र १२ घर लडाएको छ । हात्तीले खेतमा लगाएको मकैबाली, केरा र तरकारी बाली सखाप पारेको यहाँका पीडित किसानले बताएका छन् ।
 
रातभरि बस्ती पस्ने र दिनभरि जङ्गल पस्ने हात्तीको समूहमा चार हात्ती रहेको रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए । यता बर्दिवास-८ को विजयबस्तीमा भने ६/७ हात्ती देखिएको वडाध्यक्ष शम्शेरसिंह लामाले बताए। अहिले यहाँका सर्वसाधारण हात्ती रुङ्न पालेपहरा बस्न थालेका छन् ।

त्यसैगरी जिल्लाको मध्य र दक्षिणी भेगमा बँदेल र नीलगाईको आतङ्क नै मच्चिएको छ । नीलगाई बस्ती पसेर बालीनाली खाएपछि फेरि जङ्गल फर्कने गरेका भए पनि बँदेल भने यतै बस्न लागेका जलेश्वर नगरपालिका-४ पर्सापतैलीका कृष्णमोहन शर्मा बताउछन् । बस्ती वरपरका झाडीमा स्थायी बसोबास नै बनाएको बँदेलले पछिल्लो एक वर्षयता बच्चा पनि यतै जन्माउने गरेका शर्माको भनाइ छ ।

सघनरूपमा लगाइने उखुबालीको घारी र बगैँचा वरपरका झाडी बँदेलका बासस्थान बनेको सर्वसाधारण बताउँछन् । रातभरि बस्ती पसेर बालीनाली सखाप पार्ने गरेको बँदेलले मानिसलाई पनि झम्टने गरेको छ । केही महीना पहिले मात्र बिहानीपख आफ्नो बस्तीका पाँच जनालाई बँदेलले आक्रमण गरेर घाइते नै बनाएको बर्दिवास-९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालले बताए।
 
बर्दिवासको उत्तरी क्षेत्रमा उत्पात मच्चाउँदै आएका हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट बिच्किएर मकवानपुर, रौतहटको उत्तरीक्षेत्रबाट सिन्धुलीको मरिनक्षेत्र हुँदै महोत्तरी पस्ने गरेको वनविज्ञ बताउँछन् । बँदेल र नीलगाई भने जिल्लाकै वनक्षेत्रमा आहारा कम हुँदै गएर चोरी शिकार बढेपछि बस्ती पसेका डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रकाश साहको भनाइ छ । बँदेल र नीलगाई जिल्लाको सुदुरदक्षिणी भारतीय सीमावर्ती बस्तीसम्म छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको