Like us!
Follow us!
Connect us!
Watch us!

गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना

रबिन दङगाल

सोमबार, ०२ असार २०७६, ११ : १४ मा प्रकाशित

गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना

अर्थ संसार,ललितपुर- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् ।

नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन् ।

गोदावरीमा एक लाख ४५ हजारभन्दा बढी फूल फुल्ने वनस्पतिका हर्वेरियम नमूना वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएको वनस्पति विभागका अनुसन्धान अधिकृत राकेश त्रिपाठीले जानकारी दिनुभयो । “नेपालमा रहेका १०० वर्ष पुरानो वनस्पतिलाई गोदावरी हर्वेरियममा संरक्षण गरिएको छ”, त्रिपाठीले भन्नुभयो, “नेपालका सय वर्ष पुराना वनस्पतिको नमूना बेलायत, जापान र भारतमा समेत अध्ययनका लागि लगिएका छन् ।”

यी नमूनालाई सदैव संरक्षित गर्न छ-छ महीनाको फरकमा फन्गी साइड नामक ढुसीनासक औषधिले स्प्रे गरिने गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तीलकुमारी थापाले जानकारी दिनुभयो । “उक्त नमूना राखिएको कोठामा स्पे्र गरेपछि लगभग एक महीना त्यहाँ छिर्न मिल्दैन्” ।

यस हर्वेरियममा महीनाको १०० भन्दा बढी विदेशी नागरिक अध्ययन, अनुसन्धान, तथ्याङ्क र सूचना सङ्कलन गर्न आउने गरेका छन् । विज्ञान, वायोटेक र फार्मेसी अध्ययन गर्ने सयौँ बढी स्वदेशी नागरिक गोदावरी हर्वेरियममा आउने हुँदा तिनीहरुलाई यस हर्वेरियमले विभिन्न जानकारी दिने गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको