Like us!
Follow us!
Connect us!
Watch us!

अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण

मिलन खड्का

शनिबार, ३२ जेठ २०७६, ०८ : ५६ मा प्रकाशित

अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण

अर्थ संसार, मेलम्ची-सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ ।

रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो । “पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरु देखिए”, अध्यक्ष नेपालले भन्नुभयो, “त्यसैले अनुदान दिने व्यवस्था बन्द गरी सहुलियत ब्याजदरमा ऋण लगानी गर्ने योजना बनाएका हौँ ।”

अनुदान बाँड्दा पहुँचवाला किसानले मात्रै पाएको र वास्तविक किसान छुटेको भन्दै गाउँपालिकाले यस्तो नीति ल्याएको हो । छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागिएको हो । त्यसको लागि पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालनतर्फ रु १५ लाख बजेट छुट्टयाइएको छ ।

कोष सञ्चालनको लागि दुई वटा समिति निर्माण हुनेछ । ऋण वितरणको लागि अनुदान कार्यान्वायन तथा सिफारिस समिति गठन गरिनेछ । जसको नेतृत्व कुनै एक वडाध्यक्षले गर्नेछन् । पशुपालन गरिरहेका वा गर्न चाहेका किसानले प्रस्तावना पत्रसहित सो समितिमा आवेदन दिनुपर्नेछ ।

प्रस्तावना पत्र र उसको व्यक्तिगत लगावको अध्ययन गरेपछि सिफारिस समितिले ऋण दिने वा नदिने विषयमा निर्णय गर्नेछ । ऋण वितरण र सुरक्षणको अनुगमन गर्नको लागि गाउँपालिका प्रमुखको अध्यक्षतामा एक अनुगमन समिति गठन गरिनेछ । सो समितिले ऋण लगानी गरिएका किसानको अनुगमन गर्नेछ । यसरी वितरण भएको ऋण फिर्ता गर्ने समयसीमा भने सिफारिस समिति ऋणीबीचको आपसी समझदारीमा निर्धारण गरिनेछ । “प्रस्तावका आधारमा उसले कसरी पशुपालन गर्न खोजेको हो, उत्पादनको समयावधिलाई हेरेर किस्ता निर्धारण गरिनेछ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण दुलालले भन्नुभयो, “त्यसको समयावधि बढीमा पाँच वर्षको हुनेछ ।”

किसानले गर्न चाहेको पशुपालनको लागि आवश्यक सीप तथा तालीमको लागिसमेत गाउँपालिकाले सहयोग गर्नेछ । सो कोषमा गाउँपालिकाले हरेक वर्ष रकम थप्दै जाने छ । त्यस्तै ऋणबाट प्राप्त ब्याज तथा अन्य विलम्ब शुल्कलगायतका रकमसमेत कोषमा थप्दै जाने गाउँपालिकाले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको