Like us!
Follow us!
Connect us!
Watch us!

१० बुँदे माग राख्दै नर्सहरु अनशनमा, जीवन रक्षाको लागि अपिल

मंगलबार, ०७ जेठ २०७६, १६ : ३६ मा प्रकाशित

१० बुँदे माग राख्दै नर्सहरु अनशनमा, जीवन रक्षाको लागि अपिल

अर्थ संसार, काठमाडौ– ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ ।

नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो । कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे ।

सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कत्ता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाईन् ।

सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ ।

नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभुति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायमनै रहेको पनि गुनासो पोखिन् । सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु लागु हुनुपर्ने उनको धारणा छ ।

त्यस्तै, नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताईन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् ।

अहिले आफुहरुले पाउनुपर्ने मानव अधिकार नपाइरहेको बताउदै उनले दुर–दराजमा रहेका नर्सहरुको अवस्था के होला भन्दै सम्बन्धित क्षेत्रलाई बेलैमा सोच्न आग्रह गरिन् ।नर्सहरु सन्तुष्ट रुपमा नेपालमै रहेर काम गर्ने वातावरण नभएको बताउदै उनले नर्सहरुको समस्यालाई नीति, नियम निर्माणको आँखाबाट हेर्नपनि जोड गरिन् । आफ्ना मागहरुको सम्बोधन नभए सडक संर्घषमा जान बाध्य हुने उनको चेतावनी रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अनशनरत नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको माग राखिन ।अहिले नेपालमा नर्सहरुमाथि अन्याय भएको बताउँदै उनले आफुहरु अत्याचारको शिकार भएको र सदाचारको मार्ग खोजिदिन आग्रह गरिन् । नर्सहरुलाई हरेक प्रकारको शोषण गरिएको भन्दै उनले नर्सलाई स्वास्थ सेवा प्रणालीको मेरुदण्डको रुपमा हेर्नपनि आग्रह गरिन् ।

स्वास्थ सेवामा लागेका नर्सहरुलाई मेसिनको रुपमा प्रयोग नगरेर मानवको रुपमा हेर्न आवश्यक रहेको उनको धारणा छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै नर्स कविता आचार्यले आफुहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराईन् । कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपु¥याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्की नर्स सम्झना डङगोलले अनसनरत नर्सहरुको जीवन रक्षामा ध्यान दिन आग्रह गरेकी छिन् । स्वास्थ क्षेत्रसंग सम्बन्धित सम्पुर्ण कर्मचारीको हकअधिकारको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिईन् ।

उनले भनिन्,‘अनशनरत डिकी शेर्पाको स्वास्थ्य अवस्था एकदमै कमजोर छ, अहिले अस्पतालको अति सघन कक्षमा उपचार भईरहेको छ । अनसनरत दुबैका जायज मागहरु कार्यान्वयनको लागि म यही मञ्चबाट आग्रह गर्न चाहन्छु ।’

त्यस्तै कार्यक्रममा बोल्दै अभियानककी अभियन्ता रोशा श्रेष्ठले नेपालमा अहिलेपनि महिलाहरुले आर्थिक तथा समाजिक रुपमा पीडा भोगीरहेको धारणा राखिन् । नर्सहरुमाथि रहेका नीति तथा नियमहरु परिवर्तन हुन आवश्यक रहको बताउँदै उनले अहिले देशभर ८५ हजार नर्सहरु अनशन भन्दापनि ठुलो पीडामा रहेको जानकारी गराईन ।

अनशनरत नर्सद्धय बराल र शेपाले अघि सारेका मागहरु यसप्रकार छन्

१ विश्व स्वास्थ संगठनको नीतिबमोजीम नर्स र बिरामीको अनुपात मिलाउने ।
२ नर्सहरुको उचित सम्मान गर्दे तहगत पारिश्रमिक तथा सेवा सूविधाको व्यवस्था सबै स्वास्थ संस्थाहरुमा गराउने ।
३ नर्सिङ परिषद्मा सबै पदका पदपुर्ती गरी नर्सीङ शिक्षाका गुणस्तरीयता र नर्सीङ शिक्षाको गुणस्तरियत सुरक्षित गर्ने ।
४ नर्सीङ महाशाखालाई क्रियाशिल बनाई नर्सीङ पेसा व्यवस्थित गर्ने ।
५ नर्स तथा स्वास्थकर्मीमा कुनै भेदभाव नगर्ने ।
६ नर्सको मानव अधिकार स्थापित गराउने ।
७ नर्सहरुमाथि हुने कार्यस्थल हिंसाको बिशेष कानुन निर्माण गर्ने ।
८ नर्सीङ सेवा सम्बन्धित कानुन निमार्ण गर्ने ।
९ प्रत्येक स्थानिय निकाय र स्वास्थ चौकीहरुमा कम्तिमा चार जना नर्सहरुको दरवन्दी हुनुपर्ने ।
१० संघ, प्रदेश र स्थानिय निकायहरुमा नर्सीङको छुट्टै शाखा बनाउनुपर्ने र समायोजन समितीमा नर्स हुनुपर्ने ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको