Like us!
Follow us!
Connect us!
Watch us!

पवित्र तीर्थस्थल देवघाट क्षेत्रमा जग्गा अतिक्रमण, महानगरपालिकाको पनि व्यवास्ता

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १२ : १२ मा प्रकाशित

पवित्र तीर्थस्थल देवघाट क्षेत्रमा जग्गा अतिक्रमण, महानगरपालिकाको पनि व्यवास्ता

अर्थ संसार, काठमाडौं- पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएका पौडेलले बताए । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गरेका छन् ।

बुद्ध धर्मावलम्बीहरुको गुम्बादेखि विभिन्न जाति समुदायको २० भन्दा बढी कुल पूजास्थल निर्माण गरिएको पौडेलले बताए ।  त्यस क्षेत्रमा बनेका संरचना र खाली जमीन किनबेचसमेत हुने गरेको पौडेलको भनाइ छ । उनका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु पाँच लाखदेखि १० लाखसम्ममा कारोवार हुने गरेको छ । 

किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पौडेलले बताए । पौडेलले भने, “यहाँको ऐलानी जग्गामा मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने समेत गरेको पाइएको छ ।” उनले सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने र अन्यथा भविष्यमा देवघाटको पहिचान र महिमा लोप भएर जाने धारणा व्यक्त गरे  । 

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेल आफू अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताए । ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै उनले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाइ व्यक्त गरे । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको विषयमा आफू प्रमुख भएपछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजीमा लागिरहेको बताइन  । त्यहाँको अवस्थाका बारेमा वडा कार्यालयमार्फत बुझ्ने प्रमुख दाहालको भनाइ छ । 

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेलले तीन वर्षअघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका एक हजार ६८८ हेक्टर जमीनमध्ये देवघाटमा १७ दशमलव ७९ हेक्टर जमीन अतिक्रमण भएको बताउनुभयो । सो क्षेत्रमा विसं २०३० यता अतिक्रमण हुँदै आएको छ । 

यसअघि पटकपटक सो क्षेत्र खाली गर्न प्रयास गरेको भए पनि चाडपर्व, बर्सातको समय, निर्वाचनलगायतका नाममा खाली गर्न नसकिएको पौडेलको भनाइ छ । स्थानीय तह, प्रशासन, राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमित क्षेत्र खाली गर्न सकिने पौडेलले बताए । 

देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नुपर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । 

धार्मिक हिसाबले निकै महत्वपूर्ण देवघाटको विकासका लागि निकै धेरै क्षेत्र आवश्यक पर्ने भन्दै उहाँले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नुपर्ने बताउनुभयो । देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो सङ्ख्यामा तीर्थालु भक्तजनहरु आउने गर्दछन् । चितवनतर्फको भाग अतिक्रमित संरचनाले भरिएसँगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको घिमिरेको भनाइ छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको