Like us!
Follow us!
Connect us!
Watch us!

साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

आइतबार, २९ बैशाख २०७६, ११ : ४५ मा प्रकाशित

साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

अर्थ संसार, काठमाडौं– अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले  बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।

रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला गाउँपालिका–८ लेखानीका २४५, काठेखोला गाउँपालिका–१ का १४, वडा नं २ भीमापोखराका ४५,  वडा नं ३ धम्जाका १००,  वडा नं ४ तग्रामका ४५, वडा नं ५ का ४१, वडा नं ६ का ३७ जनाले बेरोजगार भएको फाराम भरेका छन् ।  तथ्याङ्क सङ्कलन वैशाख मसान्तसम्म सञ्चालन हुने रोजगार संयोजक गैरेले बताउनुभयो । आ–आफ्नो वडा कार्यालयमा पुगेर फाराम भर्न सकिने उहाँको भनाइ थियो ।

बेरोजगार सूचीमा दर्ता हुनआएका व्यक्तिलाई योग्यता, सीप, दक्षताअनुसार सामाजिक विकास तथा निर्माणको कार्यमा खटाउने सरकारको योजना छ । न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ देखि ५९ वर्षसम्म उमेर समूहकाले फाराम भर्न सक्नेछन् ।

लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउने जनाइएको छ  । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् ।

त्यस्ता बेरोजगारलाई न्यूनतम सय दिनको प्राप्त हुन आउने पारिश्रमिकवापतको ५० प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता जिकिर गर्न पाइनेछैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको