Like us!
Follow us!
Connect us!
Watch us!

बु्रमर प्रयोगमा आएको एक महिनामा पनि सडकमा उस्तै धुलो

सोमबार, २३ बैशाख २०७६, १६ : २४ मा प्रकाशित

बु्रमर प्रयोगमा आएको एक महिनामा पनि सडकमा उस्तै धुलो

अर्थ संसार, काठमाडौँ - काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।  

काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ । 

“एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ,” विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो, “सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्मा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।” सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । 

महानगरको सडकमा बु्रमर सञ्चालन भएको यही वैशाख २८ गते एक महीना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुपम काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ । 

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डीे छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण बु्रमर सञ्चालनमा समस्या देखिएको छ । 

 रु १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो बु्रमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ । 

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेका छन्  । 

स्थानीयवासीको गुनासो 

बु्रमर प्रयोगमा आएपनि सडक सफा नभएको नगरवासीको गुनासो छ । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको पनि एक महीना बित्नै लागिसक्यो, धुलो कम हुनसकेको छैन । उक्त समस्या जस्ताको तस्तै रहेको छ ।

“यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरीद गर्नुको कुनै अर्थ छैन", कँडेलले भने  । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीको गुनासो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको