Like us!
Follow us!
Connect us!
Watch us!

अनियमितताको पराकास्था :चालक र सहयोगीमा आफ्नै नाम राखेर तलब बुझ्छन् राष्ट्रिय सभाका अध्यक्ष

आइतबार, २२ बैशाख २०७६, ०९ : २२ मा प्रकाशित

अनियमितताको  पराकास्था :चालक र सहयोगीमा आफ्नै नाम राखेर तलब बुझ्छन् राष्ट्रिय सभाका अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’

प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ ।

संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ ।

संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन् । अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ । ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने । तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए । दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्‍याएर आएँ ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार स्वकीय सचिवालयका कर्मचारीकै नामको बैंक खातामा पारिश्रमिक जम्मा गरिदिनुपर्छ । ‘स्वकीय सचिवालयका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ,’ ऐनमा भनिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

5cce5b99106ce.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको