Like us!
Follow us!
Connect us!
Watch us!

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी

विहीबार, ०५ बैशाख २०७६, ०९ : ०० मा प्रकाशित

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी

अर्थ संसार, दार्चुला– नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो ।

“अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ”, आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भन्नुभयो, “पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको छ ।”

उहाँका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ, उहाँले भन्नुभयो, दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ । २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै रु १० करोड बराबरको क्षति भएको छ ।

नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक) को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत रु एक अर्ब ४४ करोड रहेको छ । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत् आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।

अपर चमेलिया निर्माण शुरु हुने

अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका–२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत् आयोजना यो तेस्रो हो ।
     
यसअघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको छ भने कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाड जलविद्युत् आयोजना ८ मेगावाट अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले सम्पन्न गरेका आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ केभी डबल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

चालीस मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ दशमल ४१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३३ प्रतिशत हिउँदका छ महीनामा र बाँकी ६७ प्रतिशत वर्षात महीनामा उत्पादन हुनेछ । कम्पनीले यो वर्षबाटै अपर चमेलिया विद्युत् उत्पादन शुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो । विद्युत् तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अपर चमेलिया आयोजनास्थलसम्मै सडक पहुँच पुगेका कारण विद्युत् उत्पादनमा समस्या नरहेको कम्पनीले जनाएको छ ।
 
अपर चमेलिया नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा १५ किलोमिटर माथि रहनेछ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत रु सात अर्ब २० करोड लाग्ने अनुमान छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपूँजी लगानीमा निर्माण गरिनेछ । आयोजनाको चार वर्ष अर्थात् २०७९ फागुनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत् प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको