Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

आइतबार, ०३ चैत्र २०७५, ११ : ४० मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

  • निरा गौतम

अर्थ संसार, रुपन्देही–  प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको होे । मन्त्रिपरिषद्ले कार्यक्रम स्विकृत गरेसँगै भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।

आउँदो बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेहरुलाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिने छ । भ्रमण वर्षका क्रममा मायादेवी प्रसूतिमार्ग घोषणा एवं प्रसूति उत्सव गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यस्तै, लुम्बिनी फुड फेस्टिवल, सुजाता खीर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजा, योग तथा ध्यान शिविर र सडक प्रदर्शनीको आयोजना गरिने छ ।

भ्रमण वर्ष सफल बनाउन झण्डा निर्माण गरिनाका साथै स्टिकर, ब्रोसर, होर्डिङ बोर्ड लगायतका सामग्रीहरु बनाएर प्रचारप्रसार गरिने छ । भगवान् बुद्धबारेको सडक प्रदर्शनी, बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन र साहित्य प्रतियोगिता आयोजना गरिने जानकारी मन्त्रालयले दिएको छ ।

यसैगरी, विश्व शान्ति सुमधुर साँझ, पथप्रदर्शक तथा स्वयंसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रमहरु तय गरिएका छन् । भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका ७ वटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले ४ करोड १९ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । प्रस्तावित बजेटलाई आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ । प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार छुट्याइएको बजेटमध्ये २ करोड २७ लाख ९० हजार रुपैयाँ चालू आर्थिक वर्षमै खर्च हुनेछ ।

प्रस्तावित खर्चअनुसार उद्घाटन कार्यक्रममा ७० लाख र समापनमा १५ लाख रुपैयाँ खर्च हुनेछ । भ्रमण वर्षको प्रचारप्रसारका लागि १ करोड २५ लाख रुपैयाँ छु्ट्याइएको छ । ब्राण्डिङ, लोगो, जिंगल, वेबपेजका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ भने सञ्चारमाध्यमहरु मार्फत प्रचारप्रसार गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

लुम्बिनी भ्रमण वर्ष मनाउन एकसय फुट अग्लो राष्ट्रिय झण्डा निर्माण, भ्रमण वर्ष अवधिभर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी प्रसूति मार्ग घोषणा गरिने छ ।

बुद्ध सर्किटका विभिन्न स्थान तथा लुम्बिनी प्रवेशका विभिन्न नाकाहरूको सरसफाइ, डष्टबिन खरिद र बेलहिया–भैरहवा दीपमाला जडानका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकूद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमहरु समाविष्ट छन् । भ्रमण वर्षको सिलसिलामा आयोजना गरिने बौद्ध विद्वानहरुको समागममा बौद्ध दर्शन र लुम्बिनीबारे कार्यपत्र प्रस्तुत गर्न मात्रै २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचारप्रसार हुने र त्यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नाका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ ।
बुद्ध जन्मस्थल र बुद्धपथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने कार्यक्रम तय भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीलाई केन्द्रमा राखेर भ्रमण वर्षको तयारी गरिएको छ ।

मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि प्रसारमा महत्वपूर्ण साबित हुने बताउनुभयो । “प्रदेश ५ को पहिचान लुम्बिनी हो, यहीँबाट प्रदेशको समृद्धि सम्भव हुने ठानेर यसको प्रचार र विकासका लागि कार्यक्रम तयार गरेका हौं,” उहाँले भन्नुभयो – “त्यसका लागि वर्षभरि नै विभिन्न कार्यक्रम गरिने छ ।” लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने सचिव पौडेलको विश्वास छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बताउनुभयो । उहाँले भन्नुभयो – “भ्रमण वर्षले विश्वको ध्यान लुम्बिनीमा तानिने छ ।”
भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गरी तयारी थालिएको छ ।

गौतम बुद्ध जन्मिएको पावन दिन वैशाख पूर्णिमामा आरम्भ भई भ्रमण वर्ष चैत पूर्णिमामा समापन हुनेछ । विश्व शान्तिको मुहान मानिने लुम्बिनीमा विश्वका ८७ देशका पर्यटकहरु वर्षेनी भ्रमण गर्न आउँछन् ।

लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमा सरदर १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको