Like us!
Follow us!
Connect us!
Watch us!

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

ramesh lamsal

बुधबार, १५ फागुन २०७५, ११ : ०१ मा प्रकाशित

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

  • अर्थ संसारसँगको कुराकानी

रमेश भट्टराई चिनाइरहनुपर्ने नाम होइन । नेपालको बीमा व्यवसाय र बीमा उद्योगमा एउटा सिद्धहस्त व्यक्तित्वको रुपमा उहाँको भूमिका स्थापित भइसकेको छ ।

विगत २० वर्षदेखि यसै क्षेत्रमा निरन्तर सक्रिय भएर लाग्नु भएका भट्टराईले विभिन्न उतार चढाव पनि देख्नुभयो । विभिन्न सफलताका कथा पनि बनाउनुभयो । नेपालको बीमा क्षेत्रलाई नयाँ उचाईमा उठाउने उहाँको सपना छ । नेपालमा अझै पनि ठूलो मात्रामा बीमामा नजोडिएका क्षेत्र छन् , त्यसलाई क्रमशः जोड्ने सपना पनि उहाँले साच्नु भएको छ ।

उहाँले  बीमा  क्षेत्रमा आफ्नो सक्रियता सन् १९९९ मा सोही कम्पनीबाट भएको हो । बीमा क्षेत्रमा करिब २० बर्षको अनुभव सम्हालेर आउनु भएका उहाँको नयाँ सोच, चाहना र संकल्पले अझै धेरै काम गर्ने मार्ग तय गर्छ भन्ने भन्ने विश्वास पनि रहेको छ ।

बीमा कम्पनीका परिसूचकहरु क्रमशः स्थिर हुँदै नयाँ प्रक्रियामा अगाडि बढेका छन् । बीमा समितिले यसै आर्थिक वर्षसम्म न्युनतम रु १ अर्ब  पुँजी पुर्याउने लक्ष्य पनि दिएको छ । हाल युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको जिम्मामा कायम मुकायमको रुपमा  रहनु भएका भट्टराईसँग हामीले बीमा व्यवसाय र यसको फरक फरक आयामका बारेमा कुरा गर्यौ ।

उहाँका केही धारणालाई हामीले जस्ताको तस्तै पस्कने प्रयास गरेका छौ । युनाइटेड इन्स्योरेन्स कम्पनी २०५० सालमा स्थापना भएको हो । वास्तवमा भन्ने हो भने जनरल इन्स्योरेन्स सेवा मात्र सञ्चालन गर्ने निजी क्षेत्रको यो नै सबैभन्दा पुरानो स्वदेशी कम्पनी हो । जनरल इन्स्योरेन्सको बजारमा सफल र चर्चित भएका अनुहारहरु पनि धेरैजसो यही कम्पनीका उत्पादनहरु छन् । म आफैं पनि यही कम्पनीको उत्पादन हो । 

सन् १९९९ मा यहाँबाट करियर सुरुवात गरेको मैले जनरल इन्स्योरेन्स क्षेत्रबारे जे सिकेँ, जे जानेँ त्यो यहीँबाटै सम्भव भएको हो, उहाँले आफ्नो कार्यकालको सुरुवातीको बारेमा बताउनुभयो ।  कम्पनीको इतिहासको हिसाबले हेर्ने हो भने अहिले यो कम्पनी बीमा बजारमा नेतृत्वदायी भूमिकाका रहनुपथ्र्यो  । त्यो भने नभएको हो । जनशक्ति व्यवस्थापन प्रमुख समस्या हुन गयो ।  विगत २६ बर्षको दौरानमा कम्पनीले १२ जना प्रमुख कार्यकारीहरुलाई फेरिए ।

सरदरमा एक जना प्रमुख कार्यकारी अधिकृत औसतमा २ वर्ष मात्र रहेको देखिन्छ । पछिल्ला कार्यकालहरुमा आएका प्रमुख कार्यकारीहरुले संस्थाको वृद्धि र विकासका लागि ठोस् भूमिका खेल्न सकेनन् । त्यसको कारण एउटा बीमासम्बन्धी ज्ञानको कमी हो । कार्यकारीहरु नै क्षमतावान नहुँदा यसले तल्ला तहका कर्मचारीहरुको समेत वृत्ति विकासमा अवरोध पुग्न थाल्यो, त्यसैले राम्रा कर्मचारीहरुले धमाधम जागिर छाड्न थाले । यसले बीमाको आधारभूत संरचना नै तहसनहस बनाइदियो ।

यहाँ म आएको करिब ७ महिनामात्र भएको छ । यसबीचमा मैले यही बुझेर नै जनशक्तिको व्यवस्थापन र वृत्ति विकासमा ध्यान दिएको छु । म आउँदा खाली रहेका महत्वपूर्ण व्यवस्थापकीय पदहरुमा उपयुक्त र सक्षम व्यवस्थापकहरु नियुक्त गरेको छु । अब क्रमशः कम्पनीले नयाँ उचाई प्राप्त गर्नेछ ।  हामीले  आक्रामक रुपमा अघि बढ्ने योजना बनाएका छौ । अब कम्पनी पूर्ण क्षमतामा चल्छ ।

अहिले नेपालको निर्जीवन बीमा व्यवसायको आकार भनेको २१०० करोड मात्रै  रहेको छ ।  औसत १ अर्बको कारोबार गरेर एउटा बीमा व्यवसाय कसरी चल्न सक्छ  त भन्ने तर्फ पनि हामीले केही न केही सोच अगाडि बढाउनु जरुरी छ ।

पछिल्लो पटक म यहाँ आउँदा संस्थाको अवस्था जर्जर थियो । मार्केटिङ विभाग प्रमुखविहीन थियो । अन्डरराइटिङ विभाग प्रमुख पनि जागिर छोड्ने तयारीमा हुनुहुँदो रहेछ, उहाँ पनि जानुभयो । पुनर्बीमा विभाग पनि खाली थियो । मलाई त कहिलेकाँही चलचित्रको कहानी जस्तो लाग्छ । अहिले मेरो विश्वासमा सबै विभागीय प्रमुखहरुलाई ल्याएको छु । अहिले मसहित मार्केटिङ, आरआई, अन्डरराइटिङ, मार्केटिङ विभागहरुमा नयाँ नियुक्ति गरिएको छ । उहाँहरु अनुभवी र सक्षम हुनुहुन्छ । अब हामी केही न केही नयाँ उडान भर्ने चरणमा पुगेका छौ । युनाइटेडसँग हाल २९  शाखाहरु छन् । हामीसँग १७५ जना कर्मचारी छन् । शाखाहरुको आवश्यकता र सिफारिस अनुसार कर्मचारीहरु थप गर्दै लगेका छौ ।

यसरी पुग्दैछ एक अर्ब

पूँजी वृद्धिका लागि हामीले पहिले १० प्रतिशत बोनस शेयर र त्यसपछि शतप्रतिशत हकप्रद शेयर दिने भनेका थियौं, तर हाम्रो रिजर्भमा वितरणयोग्य रकम नभएको भनेर बीमा समितिले त्यसलाई रोकिदियो । अबको अवस्थामा हाम्रो पुँजी पुरर्याउने विकल्प भनेको हकप्रद शेयर जारी गर्ने नै हो ।

अब विशेष साधारणसभा डाकेर २४० प्रतिशत हकप्रद प्रस्ताव पारित गराउँछौं । पहिले पनि हामीले त्यो प्रस्ताव लगेका थियौं । तर अग्निबीमा रोकिएको अवस्थामा बीमा समितिले स्वीकृति दिन मानेन । तर अहिले अग्नि बीमा खुलिसकेको छ । अब समितिले त्यस्तो स्वीकृति दिने बाटो समेत खुलेको छ । अव हामीलाई कुनै समस्या छैन । मलाई लाग्छ संस्था टिक्न पहिलो कर्मचारीको कम्पनीप्रतिको भरोसा चाहिन्छ । यो अनिवार्य कुरा हो । दोस्रो, ग्राहकहरुको कम्पनीप्रतिको विश्वास हो । इन्स्योरेन्स गर्दा समस्या पर्दा सहज रुपमा भुक्तानी पाइन्छ भन्ने विश्वास होस् । तेस्रो भनेको लगानीकर्ताको पक्ष हो । यो कम्पनीमा लगानी गर्दा उचित प्रतिफल पाउँछु भन्ने विश्वास दिलाउँनुपर्छ । त्यसको लागि म लागिरहेको छु । म सफल हुन्छु भन्ने लागेको छ ।

यसरी प्राप्त  हुँदैछ  सफलता

म आउँदा दाबी भुक्तानीको पेन्डिङ फाइल १९०० भन्दा बढी थियो, यो १५५० को हाराहारीमा झरिसकेको छ । यसबीचमा हामीले साढे १२ करोडको दाबी भुक्तानी दिएका छौ । हामीले अहिले ‘दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम’ भन्ने नाराका साथ अगाडि बढेका छौ । यसले घटनास्थलमै गएर दाबी भुक्तानी दिने व्यवस्था गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी भनेको अल्पकालीन प्रकृतिको व्यवसाय हो । हामीले विश्वास जित्न सक्यौं भने पुरानै स्ट्रेन्थमा फर्किन हामीलाई कुनै गाह्रो हुँदैन । अबको जमानामा मार्केटिङले ल्याउने भनेको विजिनेस होइन, सूचना मात्र हो । विजिनेस लिन त कम्पनी नै जानुपर्छ र विश्वास दिलाउनुपर्छ । अहिले हामी यस्ता आन्तरिक पक्षहरुमा निकै सबल र प्रतिस्पर्धी भइसकेका छौं, यसको नतिजा तेस्रो चौमास देखिको रिपोर्टमा देखिन थाल्छ ।

हाल शाखाको पुनर्संरचना, नयाँ ग्रोडक्ट र दाबी भुक्तानी जस्ता पक्षहरु सबल बनाउँदै जाने सोच बनाएको छु र त्यसका लागि आवश्यक कर्मचारी व्यवस्थापन पनि गरिसकेको छु । मैले यही अवस्थामा स्वतन्त्र रुपमा काम गर्न पाएँ भने एक वर्षभित्रै कम्पनीलाई सबल र प्रतिस्पर्धी अवस्थामा पुर्याउन म सफल हुन्छु भन्ने मलाई विश्वास छ ।

एक वर्षभित्रै कम्पनीलाई निर्जीवन बीमा कम्पनीमध्ये हरेक हिसाबले अग्रस्थानमा पुरयाउने संकल्प लिएको छु । हामी विशेष साधारणसभामा जाँदैछौं । एनएफआरएस प्रणालीका कारण वार्षिक साधारणसभामा ढिलाई हुने भएकोले विशेष साधारणसभामा जान लागेका हौं । त्यसले हकप्रद पारित गरेसँगै प्रक्रियामा जान्छ । पुँजी पुगेपछि बजारमा एउटा छुट्टै किसिमको विश्वास र तरंग आउँछ त्यसपछि कम्पनीले गति लिन्छ ।

5c4ea4b4d62ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको