Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियाको आर्थिक वृद्धिदर २.७ प्रतिशत

मंगलबार, ०८ माघ २०७५, १३ : ०५ मा प्रकाशित

दक्षिण कोरियाको आर्थिक वृद्धिदर २.७ प्रतिशत

सियोल– दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ ।

यो वृद्धि विगत छ वर्ष यताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो ।

केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ । सन् २०१७ मा प्रतिव्यक्ति आय २९ हजार ७४५ डलर थियो ।

सन् २०१८ मा निजी उपभोग, सरकारी खर्च र निर्यातमा वृद्धि भएको छ, जबकी निर्माण र लगानीमा शिथिलता आएको छ । उपभोगमा सात वर्षयता सबैभन्दा बढी अर्थात् २.८ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा पनि ५.६ प्रतिशत वृद्धि भएको छ । सन् २००७ यता सरकारी खर्चमा लगातार वृद्धि भइरहेको छ ।

दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य आधारका रुपमा चिनिएको निर्यातमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ । तर, कर्पोरेट लगानीमा कमी आएको छ ।

गत वर्ष निर्माणका क्षेत्रमा हुने लगानी ४ प्रतिशतले घटेको छ । सन् २००८ को एसियाली वित्तीय सङ्कट यताको यो सबैभन्दा ठूलो गिरावट हो ।

कूल आन्तरिक आयमा गत वर्ष १.१ प्रतिशतले वृद्धि भएको छ । इन्धनको मूल्यमा वृद्धि भएका कारण सन् २००८ यताकै यो सबैभन्दा कमजोर वृद्धि हो ।

केन्द्रीय बैंकका महानिर्देशक पार्क याङ–सूले गत वर्षको अन्तिम चौमासिक अवधिमा निर्यातमा भएको नकारात्मक वृद्धिमा सुधार ल्याउन सरकारले प्रयत्न गरेको बताउनुभयो । “यसबाहेक, कृषि र निर्माण उद्योगको उत्पादनमा पनि मौसम अनुकूल भएका कारण अक्टोबरमा निकै प्रगति भएको छ ।” , ८ रासस\योनहाप

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको