Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती

आइतबार, ०२ माघ २०७३, १३ : २४ मा प्रकाशित

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती

अर्थ संसार

धितोपत्रको दोश्रो बजारका रुपमा प्रभावकारी वित्तीय सेवा प्रवाह गरी पुँजीबजारमा तरलता प्रदान गर्ने मुख्य उद्देश्यका साथ स्थापित नेप्सेको वार्षिकोत्सवका अवसरमा दोस्रो बजार गतिविधिमाथि केहि प्रकाश पार्ने अनुमति माग्दछु । 

कारोबारको अवस्था 

आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड ७७ लाख बराबरका धितोपत्रको कारोबार भएको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १ खर्ब १५ अर्ब १० करोड रुपैयाँ बराबरकोे कारोबार भएको छ । गत वर्ष सोही अवधिको तुलनामा कारोबार रकममा १२१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष उक्त अवधिमा ५० अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

बजार पुँजीकरण 

आव २०७२/७३ को अन्तमा बजार पुँजीकरण  १८ खर्ब ९० अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । हाल बजार पुँजीकरण मूल्य १६ खर्ब ६० अर्ब २७ करोड पुगेको छ । बजार पुँजीकरणले गत साउन १२ गते २० खर्ब ७० अर्ब ९९ करोड ५० लाखको अधिकतम उचाई छोएको थियो । 

नेप्से परिसूचक 

मुलुकको इकोनोमिक ब्यारोमिटरको रुपमा रहेको नेप्से परिसूचक हिजो  १४७९.८६ विन्दुमा कायम छ । नेप्से परिसूचकले गत साउन १२ गते १८८१.४५ को उच्चतम विन्दु छोएको थियो । 

सूचीकरण 

आव २०७३/७४ को प्रथम ६ महिना सम्ममा २ सय २० वटा कम्पनीहरू सूचीकृत छन । यस बीचमा १२ कम्पनी गाभ्ने गाभिनेमा, ३ कम्पनी प्राप्ति तथा विलय प्रक्रियामा गएका छन् भने ६ कम्पनीहरु नयाँ सूचीकृत भएका छन । 

राजस्व

आव २०७२/७३ को कारोवारबाट पूँजीगत लाभ करबापत १ अर्ब ३९ करोड ८९ लाख संकलन भएको छ भने अग्रीम कर कट्टीमार्फत नेपाल सरकारको राजस्वमा ४६ करोड ६९ लाख योगदान पुगेको छ । उक्त अवधिमा नेप्सेले कारोबार कमीसन बापत ६५ करोड १८ लाख आम्दानी गरेको छ । यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ४ करोड ८० लाख बराबरको कारोवार शुल्क संकलन गरेको छ । 

यस प्रसंगमा नेप्सेले नीतिगत एवं संस्थागत सुधारतर्फ केही महत्वपूर्ण कार्यहरु गरेको छ, यसको चर्चा गर्ने अनुमति चाहन्छु ।

 कारोबार प्रणालीको सुधार

सूचना प्रविधितर्फ प्रयोगकर्ताले अनुभव गर्न सक्ने गरी परिवर्तन भएका छन् । मुख्य कारोबार प्रणालीमा म्याचिङ इन्जिन, एड्मिनिस्ट्रेसनमा रहेका धेरै फङ्सनहरुलाई स्वचालित गरिएका छन् । कारोबार प्रणालीको क्षमता सुधार गर्न अप्टिमाइजेशनको कार्य गरिएको छ ।  

परामर्शदाताले पेश गरेको प्रतिवेदनको आधारमा सार्वजनिक खरिद ऐन÷नियम अनुसार अनलाइन कारोबार प्रणालीको लागि टेन्डर आह्वान गरिएको छ । त्यसअनुसार चयन भएको कम्पनी वाईकोले १४ महिनाभित्र सम्पूर्ण प्रणाली डेलिभर गर्ने गरी ४ फागुन २०७२ मा सम्झौता भएको थियो । धितोपत्र बोर्डले यस सम्बन्धमा विभिन्न चासो देखाएपछि प्रणाली विकास प्रक्रिया अवरुद्ध भएको थियो । हाल उच्च अदालत पाटनबाट नेप्सेलाई सम्झौता कार्यान्वयन गर्न आदेश प्राप्त भएको छ ।  

सर्भर तथा नेटवर्क उपकरणहरुको क्षमता विस्तार गर्न नयाँ सर्भर, कम्प्युटर, सूचना भण्डारण उपकरण तथा नेटवर्क उपकरणहरु जडान गरिएको छ । सूचना प्रणालीको सुरक्षा व्यवस्थाको लागि नयाँ उच्च क्षमताका सुरक्षा उपकरणहरु युटिएम फायरवाल, डब्ल्युएएफ जडान गरिएको छ । ब्रोकर नेटवर्क (वान) तथा नेप्से (ल्यान) को पूर्णतया पुनर्संरचना र क्षमता विस्तार गरिएको छ । नेप्से र सिडिएस प्रणालीबिच कारोबार सूचना आदानप्रदान लाई भीपीएन स्थापना गरी थप सुरक्षित गरिएको छ । 

प्रणालीको सेवा अविछिन्न रुपमा प्रदान गर्न ऊर्जा जगेडाको समेत (कम्तिमा ८ घण्टा नियमित बिद्युत आपूर्ति हुने) व्यवस्था गरिएको छ । प्रणाली निर्माता कम्पनी कम्डाकसँग ३÷४ वर्ष देखी हुन नसकेको वार्षिक मर्मत सम्झौतालाई आव २०७०/७१ देखि निरन्तरता दिइएको छ ।

प्रणालीको म्याचिङ इन्जिन मोडुलबाहेक अन्य भागहरु जस्तै सर्किट फिल्टर, इन्डेक्स एड्जस्टमेन्ट, ब्रोकर बैंक ग्यारेन्टी, सुपेरिवेक्षण प्रणाली, सेबोन सुपरिवेक्षण मोडुल, ओपन रेन्ज कारोबार, कम्पनी मर्जर, मार्केट क्यापिटलाइजेसन क्यालकुलेसन, रिपोर्ट प्रणाली आदिलाई समेत पूर्णरुपमा स्वचालित गरिएको छ । कारोबार प्रणालीमा रहेको पुरानो सिस्टम सफ्टवेयर विन्डोज २००३, एसक्युएल २००५, डाटाबेस प्रणालीलाई नवीनतम विन्डोज २०१२, एसक्युएल २०१४ मा स्थान्तरण गरिएको छ । नविनतम प्रविधिको प्रयोग गरी कारोबार प्रणालीको क्षमता विस्तार गरिएकोले पहिलेको भन्दा ५ गुणा भारमा समेत प्रणाली सफलतापूर्वक संचालन गर्न सकिएको (११,७०० कारोबार सफलतापूर्वक गर्न सफल) छ ।

 

ब्रोकर मोडुलतर्फ रहेका समस्याहरुको समाधान गरी हरेक ब्रोकरलाई मल्टिपल लगइन प्रदान गरिएको छ.। पहिले एउटा मात्र लगइन प्रदान गरिएको थियो । नेप्सेको कारोबार सम्बन्धी सूचनाहरु रियल टाइममा प्रशारण गर्न नयाँ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआइ) को विकास गरिएको छ । सोहीमार्फत नेप्से वेबसाइटमा रियल टाइम  डाटा उपलब्ध गराउँदै आएका छौं । 

सूचना प्रसारण सेवालाई विश्वसनीय बनाई रियल टाइम कारोबार विवरण प्रशारण गर्न नयाँ वेबसाइट, मोबाइल एप्सको विकास गरिएको छ । तेस्रो पक्षको विद्युतीय माध्यम प्रणालीबाट प्रत्यक्ष कारोबार विवरण प्रसारण गर्न एपिआइको विकास गरी पहुँछ प्रदान गरिएको छ । नेप्से वेबसाइट, एप्स तथा मेल सर्भर आदिको नेप्से स्वयंले होस्टिङ गरी दु्रत सेवा प्रदान गरिएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुलाई लगइन प्रदान गरी कम्पनी स्वयंले वेबसाइटबाट सोझै सूचनाहरु अपलोड गर्ने व्यवस्था गरिएको छ । नेप्से वेबसाइटमार्फत मार्केट डेप्थ हेर्न सकिने व्यवस्था गरिएको छ । एलइडीमार्फत समेत काठमाडौँको दुई स्थानबाट प्रत्यक्ष कारोबार विवरण प्रशारण गरिएको छ । यसैगरी नेप्से शैक्षिक वेवसाइट विकास गरिएको छ । उक्त वेभसाइट अहिले परिक्षणमा छ । 

दोस्रो बजार सेवा विस्तार

सुदुर पश्चिमाञ्चलको धनगढी र पूर्वाञ्चलको धरानमा रिमोट वर्क स्टेसन (आरएसडब्ल्यु) थप गरिएको छ । देशभर ६४ स्थानबाट डिपोजिटरी पार्टिसिपेन्ट्स (डिपी) सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । दोस्रो बजार सेवालाई थप विस्तार गर्ने सम्बन्धमा अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनलाई क्रमिक रुपमा कार्यान्वयन गरिनेछ । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेड

नेप्सेकोे पूर्ण स्वामित्वमा स्थापित सिडिएस एन्ड क्लियरिङ लिमिटिेडले अहिले तीब्र गतिमा काम गरिरहेको बजार सरोकारवाला सबैमा विदितै छ । स्थापनाको ४ वर्षसम्म डिम्याट कार्यान्वयन हुने नसकेकोमा गत आव २०७२/७३ को श्रावणबाट डिम्याट कार्यान्वयन समितिमार्फत तोकिएका कम्पनीहरुको पूर्णडिम्याट कारोबार गराउँदै आएका थियौं । आव २०७२/७३  पुस मासान्तसम्म ६ महिनाभित्रै हामी कुल कारोबारमा ९० प्रतिशत योगदान गर्ने कम्पनीहरुको पूर्ण डिम्याट गराउन सफल भयौं ।

गत वर्ष माघ १ गतेदेखि सम्पूर्ण कारोबार डिम्याट फर्ममा सुरु गरेपश्चात केही साना कम्पनीहरुको सेयरको माग र आपूर्तिमा असन्तुलन उत्पन्न भई हुनसक्ने विकृतिलाई रोक्न समयमै नेप्सेले कारोबारमा रोक लगाई कम्तिमा १० प्रतिशत अभौतिकरण गराई पुनः कारोबार गराएको ब्यहोरा स्मरण गराउन चाहन्छु । पूर्ण अभौतिकीकरणपश्चात कारोबार बढेको छ, राफसाफ फछ्यौट सहज भएको छ र समयको बचत भएको छ । हालसम्म ६ लाख ७३ हजार डिम्याट खाता खोलिएका छन् ।

एक अर्बभन्दा बढी कित्ता सेयर अभौतिकीकरण भएको छ । अभौतिकीकरणकै माध्यमबाट १० लाखभन्दा बढी कारोबार तथा दुई खर्ब ३० अर्ब रुपैयाँ बराबरको राफसाफ फछ्र्यौट भएका छन् । प्राथमिक सेयर निष्कासनमा हितग्राही परिचय भेरिफिकेसनको व्यवस्था गरिएको छ भने प्रणालीलाई आस्बामैत्री बनाइएको छ । लगानीकर्ताले कारोबार तथा मौज्दातको विवरण अनलाइन हेर्न सक्ने बनाइएको छ । हामी चाँडै मल्टिपल क्लियरिङ बैंक र नेट सेटलमेन्टमा जाँदैछौं । 

ओटिसी मार्केट

स्टक एक्स्चेन्जमा सूचीकरण हुन नसक्ने वा विविध कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीलाई  ओटिसी मार्केटमार्फत कारोबार गराउने उद्देश्य हाम्रो छ । यस अनुरुप स्थापित  ओटिसी मार्केटलाई क्रियाशील बनाइएको छ । आगामी दिनमा अलग्गै कम्पनी स्थापना गरी आटिसी कारोबारलाई विस्तार गर्ने सोच बनाएका छौं । 

अध्ययन, अनुसन्धान, छलफल तथा अन्तरक्रिया

बजार सञ्चालनका लागि आवश्यक कारोबार विनियमावली, सूचीकरण विनियमावली, हकप्रद सेयर निस्सा कारोवार विनियमावली लगायतका विनियमावली तथा निर्देशिकाहरुमा छलफल चलाइएको छ । 

भिजिट नेप्सेअन्तर्गत काठमाडौं उपत्यकाभित्र तथा बाहिरका कलेजहरुसँगको समन्वयमा विद्यार्थीलाई नेप्से परिसरभित्रै अवलोकन गराउनुका साथै नेप्सेको ईतिहास, विकासक्रम, हालको अवस्था, यसका कार्यहरु र महत्वका बारेमा सम्बन्धित विद्यार्थीहरु संग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

वास्टविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा ल्याउनका लागि के गर्न सकिन्छ भन्ने सम्बन्धमा, पुँजी बजार लागत बारे, दोस्रो बजारमा मार्केट मेकर, डिलरको अवधारणा विकासका लागि अध्ययन गरिएको छ ।

लगानीकर्तासँग नेप्से कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष एक विकास क्षेत्रमा एक पर्ने गरी कम्तिमा ५ स्थानमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नेप्सेको ५ वर्षे रणनीतिक योजना तयार गरी सञ्चालक समितिमा पेश भएको छ । नेप्सेका लागि रणनीतिक साझेदारको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश भएको छ । नेप्सेको डिडिए गरी सोको प्रतिवेदन अर्थ मन्त्रालयमा पेश भएको छ । 

नेपाली बजार सुहाउँदो उत्पादनहरु विकास  गर्ने,  नयाँ  इन्डेक्सका बारेमा अध्ययन गर्ने, डेरिभेटिभ प्रकृतिको वित्तीय औजार कारोबारका लागि राइट सेयर रिनाउन्स ड्रेडिङ तथा पोर्टफोलियो म्यानेजमेन्टका क्षेत्रमा प्रचलित इन्डेक्स फन्डबारे अध्ययन गरिएको छ ।

सांगठनिक सुधार 

नेप्सेको सांगठनिक र ब्यवस्थापन अध्ययन गरी सोलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ । जसअनुसार दुई विभाग, पाँच महाशाखा र आठ शाखाको व्यवस्था गरिएको छ । सोहीअनुरुप कर्मचारीहरुको कार्यविभाजन गरिएको छ । मन्त्रालयबाट स्वीकृत ७९ दरबन्दीमध्ये २९ कर्मचारी कार्यरत छन् भने रिक्त दरबन्दी छिट्टै पूर्ति गर्ने गृहकार्य भइरहेको छ । 

अनुगमन तथा सुपरिवेक्षण

कारोबारमा वृद्धिसँगै हुन सक्ने विविध जोखिम व्यवस्थापन गर्न अनुगमन तथा सुपरिवेक्षणलाई तीब्रता दिनुपर्ने भएकाले अनुगमन तथा सुपरिवेक्षणको कार्यतालिका बनाई कार्यान्वयनमा ल्याइएको छ ।

चुनौतीहरू 

लगानीका लागि पर्याप्त वित्तीय औजारहरुको व्यवस्था गर्नुपर्ने चुनौती हाम्रो सामु छ । सरकारी तथा संगठित संस्थाहरुले जारी गरेका ऋणपत्र दोस्रो बजारमा पर्याप्त कारोबार हुन सकेको छैन । बजारमा संस्थागत लगानीकर्ताहरुको कमी छ । सीमित संख्याका संस्थागत लगानीकर्ताहरु पनि कारोबारमा त्यति सक्रिय भएको देखिदैन ।

धितोपत्र बजारको सन्तुलित एवं प्रभावकारी विकासका लागि वास्तविक क्षेत्रका कम्पनीहरुको उल्लेख्य एवं सक्रिय उपस्थिति आवश्यक छ । पुँजी बजार सम्बन्धी लगानीकर्ताहरुको चेतना अभिवृद्धि, सदस्य दलाल व्यवसायीहरुको सेवालाई गुुणात्मक तथा प्रतिस्पर्धी बनाउने, बैदेशिक संस्थागत लगानी तथा गैर–आवासीय नेपालीलाई पुँजी बजारमा सहभागी गराउने लगायतका चुनौतीहरु पनि हाम्रासामु छन् ।

यो तथ्यलाई सरकार, नियामक निकाय, नेप्से लगायत सरोकारवाला सबैले महशुश गरेका छौं । तापनि यस दिशामा नतिजामूलक ढंगले काम हुन सकिरहेको छैन । यी विषयहरुमा नेप्सेलाई सरकार, नियमक निकाय लगायत सरोकारवालाहरुको सहयोग आवश्यक हुन्छ । यस सन्दर्भमा नेप्सेले विभिन्न तहमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आइरहेको छ । सरकार समक्ष रायसुझाव पनि पेश गरेको छ । बजार विकास र लगानीकर्ताहरुको हित संरक्षणतर्फ लक्षित यस्ता विषयहरुमा नेप्सेले आगामी दिनमा पनि आफ्नो स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने छ ।            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको