Like us!
Follow us!
Connect us!
Watch us!

दाइजोको निहुँमा हत्या

शनिबार, ०१ माघ २०७३, १० : ३३ मा प्रकाशित

दाइजोको निहुँमा हत्या

रौतहट– रौतहट प्रहरीमा २२ पुस बिहानै एम्बुलेन्समा शव लगिँदै गरेको सूचना आयो । चालकलाई बिरामी भनेर ढाँटेर शव वीरगन्जतर्फ लगिँदै गरेको सूचना आएको थियो । यस्तो सूचना दिने एम्बुलेन्स चालक नै थिए । उनले आफ्नो एम्बुलेन्समा शंकास्पद रूपमा शव लगिएकोबारे प्रहरीलाई मोबाइलमार्फत खबर गरेका थिए ।

रौतहटको फतुहा महेशपुर–१ का सन्तोषकुमार साहकी २१ वर्षीया श्रीमती लालमुनीकुमारीलाई एम्बुलेन्समा शनिबार बिहानै वीरगन्ज लगिँदै थियो । चालकलाई पेट दुखेको बिरामी भएको बताइएको थियो । बाराको निजगढ पुगेपछि चालकलाई शंका लाग्यो । उनले बाहिर जाने बहानामा प्रहरीलाई खबर गरे ।निजगढमा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लियो । खोजतलासका क्रममा बिरामी भनिएकी लालमुनीको शव भेटियो । प्रहरीले एम्बुलेन्स फर्काएर रौतहट सदरमुकाम गौर ल्यायो । एम्बुलेन्समा रहेको उनको परिवारलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

पाँच लाखको निहुँमा पटक–पटक झगडा

सन्तोष र उनको परिवारले पटक–पटक थप पाँच लाख माग्ने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए । पाँच लाख नदिए जे पनि गर्न सक्ने धम्की पनि दिँदै आएको उनको भनाइ छ । यता, बहिनीलाई पनि त्यही निहुमा कुटपिट गर्ने र यातना दिने गरेको उनको दाबी छ ।

पैसा मागेर छोरीलाई तनाव दिन थालेपछि मृतकका बाबु किशोरी शाह २१ पुस शुक्रबार छोरीको घर महेशपुर आए । उनले ज्वाइँ र सम्धीलाई राखेर आफूले पैसा दिन नसक्ने जानकारी दिए । र, त्यही दिन भारत फर्किए ।
उनी फर्किएर गएपछि सन्तोषकुमार र उनको परिवारले लालमुनीलाई यातना दिन थाले । त्यतिमा मात्र चित्त नबुझेपछि शुक्रबार राति नै घाँटी थिची उनको हत्या भयो । उनी बिरामी भएको बहानामा परिवारले एम्बुलेन्स बोलाएर शव वीरगन्जतिर लैजान खोेजेको थियो । तर, एम्बुलेन्स चालकलाई शंका लागेपछि उनले प्रहरीलाई खबर गरे । उनीहरू बाराको निजगढबाट प्रहरीको फन्दामा परे ।

पैसा दिएर मिलाउने प्रयास

घटनाको एक हप्ता बित्न नपाउँदै माइतीपक्षलाई पैसा दिएर मिलाउने प्रयास भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । माइतीपक्षलाई २० लाखसम्म दिएर मिलाउने प्रयास भइरहेको आफूले थाहा पाएको स्थानीय राकेश यादवले बताए । उनका अनुसार घाँटी थिचेर हत्या गरेर पासो लगाएको बहाना बनाउँदै गाउँलेलाई समेत जानकारी नदिई शव एम्बुलेन्समा हालिएको थियो । उनीहरूले वीरगन्जबाट भारततर्फ लगी शव फ्याँक्न खोजेको स्थानीयको भनाइ छ । तर, एम्बुलेन्स चालकले प्रहरीमा खबर गरेपछि उनीहरू फन्दामा परेका हुन् । स्थानीयले परिवारका सबै सदस्य मिलेर लालमुनीको हत्या गरेको बताउँदै आएका छन् ।

५० लाख दिए पनि मिल्दैनौँ स् माइतीपक्ष

दाँतका डाक्टर सन्तोषकुमारका आफन्तले केटीपक्षलाई मिल्नका लागि दबाब दिएका छन् । उनीहरूले २० लाख दिएर मिलाउने प्रयास गरेका छन् । तर, माइतीपक्षले भने ५० लाख दिए पनि नमिल्ने बताएका छन् । जयप्रकाश साह सोनारले पैसा दिएर मिल्नका लागि दबाब आएको बताए । तर, ५० लाखभन्दा बढी दिए पनि आफूहरू नमिल्ने उनको भनाइ छ । ‘बहिनीको ज्यान ठूलो हो, अपराधीलाई कारबाही हुनुपर्छ, हामी पैसामा मिल्दैनौँ,’ जयप्रकाशले भने ।

माइती भारत भएकाले हत्या भयो स् स्थानीय

लालमुनीकुमारीको माइती भारत भएकाले सन्तोषको परिवारलाई हत्या गर्न बल पुगेको स्थानीय बासिन्दाको भनाइ छ । भारतबाट आएर यहाँ कसैले केही गर्न नसक्ने अहंले पछिल्लो समय दाइजोका नाममा हुने यातना बढेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झाको भनाइ छ । भारतबाट आएर प्रहरीमा धर्ना दिन पनि समस्या हुने र स्थानीयको पनि कम सहयोग हुने भएका कारण यस्ता घटनाका दोषीले उन्मुक्ति पाउने गरेको उनले बताए ।

पाँच लाख नपाउँदा गरियो हत्या

श्रीमान् सन्तोषकुमार र उनको परिवारले हत्या गरेको माइतीपक्षको दाबी छ । लालमुनीको माइती भारत हो । सन्तोषकुमारले ससुरालीसँग थप पाँच लाख दाइजो मागेका थिए । बिहेमा उनलाई १० लाख दिइसकेको मृतकका दाइ जयप्रकाश साह सोनारले बताए ।

सन्तोषकुमार पेसाले डेन्टिस्ट हुन् । उनी अरूकै क्लिनिकमा काम गर्थे । अब आफ्नै क्लिनिक खोल्न भन्दै उनले ससुरालीसँग थप पाँच लाख मागेको मृतक लालमुनीका दाइ जयप्रकाशले बताए । त्यही पाँच लाख नपाउँदा बहिनीको हत्या भएको उनको दाबी छ ।लालमुनीको माइती भारतको पूर्वी चम्पारण जिल्लाको जटौलिया हो । लालमुनीको सन्तोषकुमारसँग १० महिनाअघि मात्र बिहे भएको हो । हत्यामा सन्तोषका बाबु राजेन्द्र साह पनि संलग्न भएको आरोप लागेको छ ।

ससुरा पक्राउ श्रीमान् फरार

लालमुनीका माइतीपक्षले हत्याको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए । घटना शंकास्पद रहेको उनले बताए । पोख्रेलका अनुसार श्रीमान् सन्तोषकुमार फरार छन् । ससुरा राजेन्द्र साह भने पक्राउ परेका छन् ।

उनले आफू सो दिन घरमा नभएको बयान दिएको प्रहरीले जनाएको छ । तर, बुहारीले सलको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको बयानमा बताएपछि शंकास्पद भएको प्रहरीको भनाइ छ । श्रीमान् फरार हुनुले पनि घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।लालमुनीको शवलाई जिल्ला अस्पताल गौरमा माइतीपक्षको रोहबरमा पोस्टमार्टम गरिएको छ । रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न मिल्ने पासवानले बताए ।

अशोक पहाडी / नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको