Like us!
Follow us!
Connect us!
Watch us!

२३ सडक आयोजनामा ८० प्रतिशत काम, अन्यमा के भए पत्तो छैन

सोमबार, १६ पुस २०७५, ११ : २० मा प्रकाशित

२३ सडक आयोजनामा ८० प्रतिशत काम, अन्यमा के भए पत्तो छैन

अर्थ संसार, काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ ।

मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिनुभयो ।

 त्यस्तै ६ आयोजनाको काम पहिलो चार महीनामा शुरु हुन सकेको छैन । “रेल विभागतर्फ जयनगर–जनकपुर–कुर्था ३५ किमीमा केही महीनामा रेल सेवा शुरु हुनेछ, एक वर्षमा थप १७ किमी रेलमार्ग तयार गरी बिजुलपुरासम्म ५२ किमी दूरीमा रेल गुड्नेछ, दुई वर्षभित्र बर्दिवास र चार वर्षसम्म निजगढसम्म रेल गुड्नेछ”,उहाँले भन्नुभयो ।

पुस २६ सम्म भारतबाट कहिलेसम्म रेल आउने भन्ने प्रष्ट हुने मन्त्रालयले जनाएको छ । नेपाली झण्डासहितको रेल नै गुडाउने निर्णय यसअघि नै भइसकेको सो अवसरमा मन्त्री महासेठले जानकारी दिनुभयो ।

काठमाडौँ–वीरगञ्ज रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भारतीय परामर्शदाताबाट र केरुङ–काठमाडौँको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइरहेको मन्त्रालयले जनाएको छ । शहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र र ३०० वटा विद्युतीय बस खरीद गर्ने नीतिगत निर्णय मन्त्रिपरिषद्बाट भएको मन्त्री महासेठले सुनाउनुभयो ।

सो अवसरमा १६ यातायात व्यवस्था कार्यालय र १३ सेवा कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ । यातायातलाई अझ व्यवस्थित गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको छ ।

प्राधिकरण बनेपछि सार्वजनिक यातायात सञ्चालनको जिम्मेवारी दिइनेछ । विभागलाई नीतिगत काम गर्ने अख्तियार दिइने उहाँले बताउनुभयो । यातायात समितिमार्फत सञ्चालन भइरहेका सवारीलाई कम्पनीमा लैजान केही कानूनी व्यवस्थाले अवरोध खडा गरेकाले संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

ती कानून संसदको चालू अधिवेशनबाट नै संशोधन हुने विश्वास मन्त्री महासेठले व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव मधुसूदन अधिकारी र सहसचिव एवं प्रवक्ता शिवहरि सापकोटाले पहिलो चार महीनामा भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको