Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

आइतबार, ०१ पुस २०७५, १६ : ५६ मा प्रकाशित

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

अर्थ संसार, दमौली–  तनहँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तनहुँमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

तनहुँको राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आम्दनी गर्नुभएको छ । संयुक्त रूपमा सुन्तला खेती गर्दैै आउनुभएका उहाँहरुले यस वर्ष जिल्लामै सबैभन्दा बढी सुन्तला बिक्री गर्नुभएको हो ।

सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गर्नुभएको छ । भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य छ ।

देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताउनुभयो । उहाँका अनुसार गत वर्ष गाउँपालिकाबाट रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको