Like us!
Follow us!
Connect us!
Watch us!

स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण आयोजना हुँदै,विजेताले २ हजार डलर पाउने

मंगलबार, २५ मंसिर २०७५, १३ : ३६ मा प्रकाशित

स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण आयोजना हुँदै,विजेताले २ हजार डलर पाउने

अर्थ संसार, काठमाडौं–  स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड नेपसास)ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’को आयोजना गर्दैछ, यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरणसम्बन्धी तेस्रो संस्करण हो ।

संस्थाले युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप)हरू प्रबद्र्धन गर्दै आइरहेको छ । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन)लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बदलिने लक्ष्य राखेको छ ।

यो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई त्यस्ता विज्ञता हासिल गरेका व्यक्तिहरू जो अनुभवी परामर्शकर्ता/गुरुका रूपमा योगदान दिन इच्छुक हुन्छ, उहाँहरूसँग सम्पर्क गराउने मञ्चहरू उपलब्ध गराउँदै आइरहेको नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड– नेपसासका अध्यक्ष रञ्जन मिश्र बताउनु हुन्छ ।  यस्तो किसिमको मञ्चमध्ये स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला एक हो ।

सन् २०१७ देखि नेपसासले स्थानीय चुनौती र अवसरहरूलाई सम्बोधन गर्दै सम्भाव्य नवउद्यम (स्टार्टअप)मा परिणत गर्ने वैज्ञानिक अवधारणाहरूलाई सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ । दुई कार्यशालाहरूको सफल आयोजनापछि नेपसासले गेट कलेजको आतिथ्यमा २०७५ पुस १५ देखि १९ गतेसम्म (२९ डिसेम्बर २०१८–३ जनवरी २०१९) सम्म तेस्रो ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला’ आयोजना गर्दैैछ ।

यस कार्यशालामा सहभागिताका मंसिर २९ गतेसम्ममा आवेदन गर्न सकिने छ भने यो आवेदकहरूका लागि निःशुल्क छ । “हामी काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागीहरूलाई सहयोगका लागि यातायात वृत्तिसमेत उपलब्ध गराउने छौैं,” अध्यक्ष मिश्रले भन्नु भयो ।

कार्यशालामा सहभागिताका लागि ५० सहभागीहरूको चयन गरिनेछ । सबै सहभागीहरूलाई विभिन्न समूहमा बाँडिनेछ, जसले प्रथम स्थानका लागि एकअर्कासँग प्रतिष्पर्धा गर्नेछन् । विजेताहरूलाई २ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिनेछ ।

“हामी हाम्रो कार्यशालामा ५०–५० प्रतिशतको लैङ्गिक समानता र विविधता कायम रहोस् भन्ने कुरामा प्रतिबद्ध छौं तथा महिला एवं सीमान्तकृत समुदायबाट आवेदनका लागि प्रोत्साहित गर्दछौं,’ नेपसासले भनेको छ ।

चार दिने कार्यशालामध्ये पहिलो दिन पुस १४ गते कार्यशाला आरम्भका साथै आवश्यक जानकारी प्रवाह गरिनेछ । दोस्रो र तेस्रो दिन सहभागीहरूको समूहगत प्रस्तुतिका साथै उनीहरूले तयार पारेको व्यावसायिक योजना र नमुना प्रस्तुत गर्ने तथा तिनमा सुधार गर्ने र आकार प्रदान गर्ने काम हुनेछ ।  चौथो दिन सहभागी समूहरूले निर्णायकहरूसमक्ष आफ्नो अन्तिम कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ, निर्णायकमा शैक्षिक क्षेत्र एवं औद्योगिक–व्यावासायिक क्षेत्र दुवैतर्फ विज्ञहरू सहभागी रहनु हुनेछ ।

निर्णयहरूले प्रस्तुत अवधारणाको प्रभाव, नव–आविष्कारका मौलिकता र उद्यमशीलता क्षमताका  आधारमा विजेता समूह घोषणा गर्नेछन् । विगतका सहभागीहरू यस्ता नवउद्यम (स्टार्टअप) र नव–आविष्कारका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरूमा भाग लिन गइसकेका छन् । 

उदाहरणका लागि सन् २०१८ को कार्यशालका विजेताहरूले ‘वल्र्ड इनोभेसन फोरम’मा नेपाललाई प्रतिनिधित्व गर्नुका साथै प्रतियोगिताका विजेतासमेत बने । उनीहरूले नेपालस्थित स्विजरल्यान्डको राजदूतावासद्वारा १२ लाख रुपैयाँको अनुदानसमेत प्राप्त गरे ।

कार्यशालाको विशिष्ट पक्षमा परामर्श कार्यक्रम रहेको छ, जुन कार्यशालापछि पनि  सहभागीहरूलाई निरन्तर आफ्नो लक्ष्य हासिल गर्न सक्षम बनाउने गरि परिकल्पना गरिएको छ । यस वर्ष नेपालका लागि स्वीजरल्यान्डकी राजदूत महामहिम एलिजावेथ भन कापलर, हाम्रा परामर्शकर्ता (मेन्टर)हरूमध्ये एक रहनु भएको छ ।

यस वर्षदेखि नेपसासले कार्यशालामा प्रस्तुत गरिने उत्कृष्ट अवधारणाहरूका लागि वर्षभरिकै परामर्श, सँगै कार्य गर्ने स्थल र बीज पुँजी प्रदान गर्ने लक्ष्य राखेको छ । आवश्यक परेको समयमा उत्कृष्ट अवधारणाले आन्स्टाइनले अध्ययन गरेको विश्वविद्यालय स्वीस फेडरल इन्स्टिच्यूटका इनोभेसन सेन्टरहरूमा पहुँच पाउने व्यवस्था गरिएको छ ।

विजेता अवधारणले गत वर्षजस्तै ‘वल्र्ड इनोभेसन फोरम’मा नेपाललाई प्रतिनिधित्व गर्नेछ ।

यस कार्यशालामा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका जैविक विज्ञान ( सेल बायोलोजी र बायोकेमेस्ट्री)का प्राध्यापक म्याथिस पिटर, वल्र्ड इनोभेसन फोरमका प्रमुख कार्यकारी अधिकृत एक्सेल स्कल्जलगायतका विश्वभरिका प्रमुख वक्ताहरूले सम्बोधन गर्नुहुनेछ ।

कार्यशालाले खानपिन, चिया–कफी ब्रेक र अन्य यस्तै समयमा आफ्नो सम्पर्क सञ्जाल विस्तारका अवसर पनि प्रदान गर्नेछ ।

5c0f6d5fd50b5.jpg 5c0f6d5fe85ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको