Like us!
Follow us!
Connect us!
Watch us!

सूचना प्रविधिको क्षेत्रमा एक लाखलाई रोजगारी

मंगलबार, १८ मंसिर २०७५, १२ : ५५ मा प्रकाशित

सूचना प्रविधिको क्षेत्रमा एक लाखलाई रोजगारी


अर्थ संसार, काठमाडौँ – सूचना प्रविधिको क्षेत्रमा निकै ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने भएकाले यसबाट नेपालले पनि लाभ लिनसक्नु पर्नेमा जोड दिइएको छ ।

‘सूचना प्रविधि (आइटी) क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रियाका सहभागीहले सूचना प्रविधिका क्षेत्रलाई उद्योगकै रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

विगतमा विभिन्न मन्त्रालयले आइटी क्षेत्रमा रोजगारीको सम्भावना बारे छलफल चलाए पनि त्यसले मूर्त रुप लिन नसकेको अवस्थामा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको स्वामित्व ग्रहण गरेर छलफललाई व्यापकता दिनु सकारात्मक भएको धारणा उनीहरूको छ ।

उनीहरूले विदेशमा रहेका नेपाली नियोगमार्फत नेपालको सूचना प्रविधि क्षेत्रका बारेमा ‘ब्राण्डिङ’ गर्नुपर्नेमा जोड दिदैं ‘डिजिटल’ तथ्याङ्क ऐन तत्काल ल्याउन र आइटी बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका प्रा डा मनिष पोखरेलले सूचना प्रविधि क्षेत्रका कम्पनीले माग गरेका र आगामी दिनमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न त्यसमा आधारित पाठ्यक्रम तयार गरिएको बताउनुभयो ।

“सहस्राव्दी विकास लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रयोगलाई कसरी अघि बढाउने भन्ने विषयमा विश्वविद्यालयले कार्यक्रम निर्माण गर्ने कार्यलाई तीब्रता दिएको छ”, उहाँले भन्नुभयो, “सूचना प्रविधि बिना मुलुकको विकास सम्भव छैन, त्यसका लागि हामीले सोच बदल्नु जरुरी भइसकेको छ ।”

प्रधानमन्त्रीे केपी शर्मा ओलीका प्रविधि विज्ञ अस्गर अलीले नेपालको आइटी क्षेत्रका जनशक्तिलाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिए यसबाट लाखौँ युवा रोजगार हुने बताउनुभयो ।

आइटी उद्योगी कर्मठ डङ्गोलले सूचना प्रविधि क्षेत्रका विज्ञ तथा परामर्शदातालाई नेपालमा आएर काम गर्न सक्ने गरी मौजुदा कानूनलाई सरलीकृत गरिनुपर्ने बताउँदै विदेशी विशेषज्ञको प्रवेशाज्ञासम्बन्धी प्रक्रियालाई पनि सरल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कम्प्युटर एशोसिएशन फर नेपाल (क्यान) का पूर्वअध्यक्ष विप्लमान सिंहले सूचना प्रविधि क्षेत्रलाई  उद्योगका रूपमा विकास गर्नुपर्ने बताउँदै रोजगारीको व्यापक अवसर सिर्जना गर्न अन्य उद्योगजस्तै यस क्षेत्रका उद्योगलाई पनि सेवा सुविधा प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।

सूचना प्रविधिका क्षेत्रमा वार्षिक सात हजार ५०० विद्यार्थीले ग्रयाजुएट गर्ने गरेका छन् । आइटी सेवा प्रदान गर्ने एक हजारभन्दा बढी कम्पनी सरकारी निकायमा दर्ता भएका छन् भने करीब पाँच हजार बढी स्वतन्त्र रूपमा काम गरिराखेको पाइन्छ ।

केही आइटी कम्पनीले ३०० भन्दा बढीलाई रोजगारी प्रदान गरेका छन् । गत कात्तिक मसान्तसम्म विदेशी लगानीका रु १० करोडभन्दा ठूला दर्ता भएका सात हजार ७३७ उद्योगमध्ये सूचना प्रविधि क्षेत्रका ४६ उद्योग रहेको उद्योग विभागले जनाएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सूचना प्रविधिको क्षेत्रमा पर्याप्त रोजगारीको सम्भावना भएको उल्लेख गर्दै नेपालभित्रै लाखौं

युवालाई रोजगारी प्रदान गर्ने उच्च सम्भावनायुक्त आइटी क्षेत्रको विकास गर्न जरुरी रहेको बताउँदै उहाँले आउँदो वर्षमा लाखौँको सङ्ख्यामा रोजगारी उपलब्ध गराउन सरकार गम्भीरताका साथ लाग्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले भन्नुभयो, “सरकारको प्राथमिकता रोजगारी हो, काम गर्ने जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको लक्ष्य हो, नेपाली युवाको श्रम र सीपलाई नेपालकै विकासमा लगाई सुखी नेपाली र समृद्ध नेपालको नारालाई मूर्तरुप दिन सरकार क्रियाशील छ ।”

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले उद्योग स्थापनाका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले एकै स्थानबाट सम्पूर्ण सेवा पाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको