Like us!
Follow us!
Connect us!
Watch us!

बायु ऊर्जा : न बिजुली जाने डर, न महशुल धेरै उठ्ने चिन्ता !

शुक्रबार, १६ कार्तिक २०७५, १० : ४० मा प्रकाशित

बायु ऊर्जा :  न बिजुली जाने डर, न महशुल धेरै उठ्ने चिन्ता !

अर्थ संसार, बलेवा–  मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा आउने आउने जोकोहीको पनि विद्युतका कारण काम रोकिएको छैन । विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय प्रविधि सञ्चालन हुन सकेन भनेर कसैले समय पनि खर्चिनु परेको छैन ।

केन्द्रीय प्रसारणलाइनको विद्युत् आपूर्ति नभए पनि कार्यालय परिसर झलमल देखिन्छ । रातको समयमा मात्रै होइन, दिनमा समेत कार्यालयका भित्री कोठामा विद्युत् प्रयोग गर्दा महशुल धेरै उठ्ने चिन्तासमेत कार्यालयलाई छैन ।

फराकिलो कार्यालय परिसरको प्रवेशद्वार छेवैमा जडान गरिएको हावाबाट बिजुली निकाल्ने प्रविधिले उक्त कार्यालयलाई सबै काममा सहज बनाएको हो । हावाबाट टर्वाइन घुमाएर निकालिएको पाँच मेगावाट बिजुली र सात वटा प्यानल जडान गरिएको सौर्य ऊर्जाले कार्यालयमा खपत हुने सबै विद्युत् आपूर्ति गरिरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

हावा र सौर्य ऊर्जाको प्रयोगबाट जम्मा भएको शक्तिले कार्यालयका दश कम्प्युटर, तीन प्रिन्टर र २५ देखि ५० वाटसम्मका २० बत्ती सहजै बाल्न सकिने उहाँले जानकारी दिनुभयो । दुई वटा खम्बामा राखिएको दुई टर्वाइनलाई हावाबाट घुमाएर विद्युत् निकालिएको छ भने कार्यालयको प्रवेशद्वारको छानामा जडान गरिएका प्यानलबाट उत्पादन हुने विद्युत्लाई समेत एकै ठाउँमा जम्मा गरेर कार्यालयको काममा लगाइएको छ ।

“हामीकहाँ कामका लागि आउने जोकोहीको काम पनि विद्युत्का कारण रोक्नुपर्ने अवस्था छैन”, प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो, “हावाबाट निकालिएको विद्युत्ले सबै काममा सहज भएको छ ।” विसं २०७४ मा जडान गरिएका टर्वाइनले निरन्तर विद्युत् उत्पादन गरिरहेको छ । दिनभरि सौर्य ऊर्जा र हावाबाट चलेका टर्वाइनले उत्पादन गरेको विद्युत्ले रातभरि कार्यालयका सबै कोठा र परिसरमा समेत झलमल्ल बत्ती बाल्न पुग्ने गरेको छ ।

स्थानीय पुष्प तिमिल्सिनाको समूहले एक वर्ष पहिला व्यक्तिगत लगानीमा जिल्ला प्रहरी कार्यालय परिसरमा हावाबाट चल्ने उक्त टर्वाइन जडान गरेको थियो । जोमसोममा दिउसको समय हावा चल्ने भएकाले हावाबाट टर्वाइन घुमाएर विद्युत् निकाल्न सहज भएको छ । उक्त विद्युत्लाई नमूनाको रुपमा लिएर अन्य ठूला योजना सञ्चालन गर्न सके मुस्ताङमा हावाबाट विद्युत् निकाल्ने काम सफल हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको