Like us!
Follow us!
Connect us!
Watch us!
‘अनुभव र औचित्यका आधारमा आवश्यक देखिए मात्र संविधान संशोधन गरिनुपर्छ’

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

आइतबार, २४ पुस २०७३, १० : २९ मा प्रकाशित

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

अर्थ संसार
काठमाडौं–नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले संविधान संशोधनको बेमौसमी प्रस्ताव फिर्ता लिनुपर्ने, होइन भने त्यसलाई स्थगन गरेर निर्वाचन घोषणाका लागि छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थितिमा नेकपा एमालेको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आइतबारको संसद् बैठकमा सरकारले जबर्जस्ती संविधान प्रस्ताव टेबुल गर्न खोजे एमालेले बैठक अवरुद्ध पार्ने बताए ।

‘संविधान गतिशील दस्तावेज हो । तर अनुभव र औचित्यका आधारमा आवश्यक देखिए मात्र संविधान संशोधन गरिनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय हितविपरीत सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय एकता भत्काउने, जनताको भावनाको उपेक्षा गर्ने, संविधानमा किटानीसाथ संसदले संसोधन गर्न नमिल्ने भनि उल्लेख भएको संविधान संशोधन प्रस्तावमा एमाले कुनै हालतमा सहमत हुन सक्दैन ।’

संशोधन प्रस्तावमा उल्लेख गरिएको भाषा, नागरिकता, सीमांकनलगायत विषय राष्ट्रिय हितमा नभएको जिकिर गर्दै उनले प्रदेश सरकारको सिफरिसमा मात्र केन्द्रीय संसद्ले सीमा हेरफेर गर्न सक्ने बताए । जनसंख्या र भूगोल दुवैका आधारमा मात्र प्रतिनिधित्वको व्यवस्था हुने अवस्था सही भएको उल्लेख गर्दै उनले जनसंख्यालाई मात्र आधार बनाए मुलुकमा सिक्कमीकरण देखा पर्ने बताए । एमालेले राष्ट्रियताको पक्षमा सातवटै प्रदेशमा विशेष जनपरिचालन अभियान सञ्चालन गरिरहेको र त्यसलाई अझ सशक्त बनाउँदै लान पार्टी क्रियाशील रहेको उनको भनाइ थियो ।               

एमालेको आन्तरिक राजनीतिको विषयमा बोल्दै उनले राष्ट्रिय राजनीतिको मियोका रूपमा रहेको एमालेले नेपाली जनताको मन जितेको भए पनि विगतको गुटगत अभ्यासले पार्टीलाई कमजोर पारेको स्वीकार गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाइहाइ भए पनि नवौं महाधिवेशनमा गुटको अभ्यास गरेर हामीले नै परिस्थिति बिगा¥यौं, अब हामीले नै सच्याउनुपर्छ ।’ पार्टीमा प्रतिस्पर्धा हुने तर त्यो पक्षधरताका आधारमा नभई गुणदोषका आधारमा हुनुपर्ने विषयलाई मध्यनजर गरेर पार्टीले पारित गरेको दसबुँदे संकल्पमार्फत गुटगत अभ्यासको अन्त्य हुने बताए ।
कार्यक्रममा सिन्धुली–१ का सांसद् गणेश पहाडी, सांसद रञ्जना माझी, सिन्धुली जिल्ला कमिटीका अध्यक्ष प्रदीप कटुवाल, जनकपुर अञ्चल सम्पर्क कमिटी अध्यक्ष हरिकृष्ण ठकुरी, मञ्च अध्यक्ष अमर थापा मगरलगायतले आफ्नो मन्तव्य राखेका थिए ।      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको