Like us!
Follow us!
Connect us!
Watch us!
उपत्यकाबाहिरको सेयर बजार हिस्सा २० प्रतिशत

राजधानी बाहिर बढ्दै छ सेयर बजार

बुधबार, ०७ कार्तिक २०७५, ०९ : २३ मा प्रकाशित

राजधानी बाहिर बढ्दै छ सेयर बजार

अर्थ संसार, काठमाडौं– दुई वर्षअघि ओरालो लाग्न सुरु भएको सेयर बजार ‘नेप्से परिसूचक’ अहिलेसम्म पनि घट्ने क्रममै छ । परिसूचक ओरालो लागिरहँदा कारोबार रकम पनि करिब आधामा खुम्चिएको छ ।

तर, काठमाडौं उपत्यकाबाहिर भने सेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा काठमाडौंमा उपत्यकाबाहिर हुने कारोबार रकमको हिस्सा आधाले बढेको छ ।

नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७४/७५ मा भएको कुल कारोबार रकममा काठमाडौं उपत्यकाबाहिरको हिस्सा २० दशमलव २७ रहेको थियो। अघिल्लो आवमा भने काठमाडौंबाहिर भएको कारोबार रकमको हिस्सा १० दशमलव ८५ प्रतिशत मात्र रहेको थियो।

२४ अर्बबराबरको कारोबार गत वर्ष दोस्रो बजारमा १ खर्ब २१ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको थियो। जसमध्ये काठमाडौं
उपत्यकाबाहिरबाट २४ अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार भएको तथ्यांकमा उल्लेख छ । यो रकम कुल कारोबार रकमको २० दशमलव २७ प्रतिशत हो।

काठमाडौंमा उपत्यकाभित्र ९६ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। अघिल्लो वर्ष भने बजारमा २ खर्ब ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो। जसमध्ये काठमाडौं उपत्यकाबाहिर २२ अर्ब २४ करोड रुपैयाँबराबरको कारोबार भएको तथ्यांकले देखाएको थियो।

यो रकम कुल रकमको १० दशमलव ८५ प्रतिशत हो। काठमाडौं उपत्यकाभित्र भने १ खर्ब ८२ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो। बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरूमा निराशा फैलिए पनि उपत्यकाबाहिरको कारोबार रकम भने बढेको छ ।

अघिल्लो वर्षको तुलनामा गत  वर्ष उपत्यकाबाहिरको कारोबार रकम १० दशमलव ६१ प्रतिशतले बढेको छ । तर, सोही अवधिमा उपत्यकाभित्रको कारोबार भने ४७ प्रतिशतले घटेको छ ।

१७ सहरमा ४१ ब्रोकर शाखा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका ५० ब्रोकरले दोस्रो बजारमा कारोबार गर्दै आएका छन्। उनीहरूले १७ वटा सहरमा ४१ वटा रिमोट वर्क स्टेसन सञ्चालन गरेका छन्। नेप्सेमा हाल १८७ वटा कम्पनी सूचीकृत छन्। जसमध्ये ६२ वटा कम्पनी सी–आस्बामा दर्ता भइसकेका छन्।

५० वटा कम्पनीले राफसाफको सदस्यता लिएका छन् भने ६९ वटा कम्पनीले डिपीको लाइसेन्स लिएका छन्। हालसम्म १३ लाख २६ हजार ३७३ वटा डिम्याट खाता खोलिएका छन्। जसमा पुरुषको हिस्सा ६१ दशमलव २५ प्रतिशत छ भने महिलाको संख्या ३८ दशमलव ७५ प्रतिशत रहेको छ । नयाँपत्रिबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको