Like us!
Follow us!
Connect us!
Watch us!

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए

सोमबार, ०५ कार्तिक २०७५, ०७ : ४४ मा प्रकाशित

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए

अर्थ संसार, काठमाडौँ– दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ ।

दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् ।

शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिनुभयो । आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ ।

यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ ।

आइतबारदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिन (आइतबार) सम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ ।

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ ।

यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले तोकेभन्दा दोब्बरसम्म भाडा लिएर पनि यात्रुलाई ठगेको पाइएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

दशैँमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले चारसमूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको