Like us!
Follow us!
Connect us!
Watch us!

अनुदान बढाए ३ बर्षमा हस्तकला निर्यात ३ गुणा पार्छौं

शुक्रबार, १४ असोज २०७३, १३ : ०६ मा प्रकाशित

अनुदान बढाए ३ बर्षमा हस्तकला निर्यात ३ गुणा पार्छौं


बाबुबाजेले सुरु गरेको धातुको मुर्ती बनाउने पेशालाई सम्हाल्दै आएका छन् हेमरन्त शाक्यले । उनका पुर्खा साता पुस्तादेखि मुर्तिकलामा थिए । ललितपुरको पाटनका रैथाने यिनी आफैं कलाकार हुन् । फुर्सदका समयमा उनी आफैं मूर्ति कुँद्छन् ।
उनले यसअघि हस्तकलाका सामग्री उत्पादन गर्नेहरुको छाता संगठन नेपाल हस्तकला महासंघको नेतृत्व सम्हालेका थिए । अध्यक्ष निर्वाचित हुनुअघि उनले कार्य समिति सदस्य, उपसचिव, महासचिव, द्वितीय उपाध्यक्ष पद सम्हालीसकेका छन् । उनी २०४२ सालमा महासंघको सदस्य बनेका थिए । त्यसपछि २०५० मा कार्य समितिमा चुनिएपछि उनी निरंतर नेतृत्वमा छन् । नेपाली हस्तकलाको बजार युरोप, अमेरिकासहित विश्वका अधिकांश मुलुकमा विस्तार हुँदै गएको छ । भर्खरै महासंघको नेतृत्वबाट निवृत्त भएका शाक्यसँग गरिएको कुराकानीको अंशः

महासंघको दृष्टिमा हस्तकलामा केके कुरा समेटिन्छन् ?

हस्तकलालाई ठ्याक्कै यही हो भनेर भन्न सकिने अवस्था छैन । यद्यपि महासंघले हातले बनाउने ४०÷४२ प्रकारका बस्तुलाई यसमा समेटिएको छ ।

हस्तकला केलाई भन्ने त त्यसो भए ?

हातबाट बनेका सामग्रीलाई हस्तकला भन्नुपर्छ । ति पूरै मेसिनबाट बन्दैनन् । केही प्रतिशत मेसिन प्रयोग गरिएको हुनसक्छ । पूरै मेसिनले बनेका सामानलाई हस्तकला भन्न मिल्दैन ।

यति धेरै बस्तु हस्तकलामा छन् । मुलुकले विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना भएका बस्तु चाहीँ केके हुन् ?

सम्भाबना सबै बस्तुमा छ । कुनै बेला कुन बस्तु र कुनै बेला कुन बस्तुको माग बढ्छ । अहिलेको परिस्थितिमा विशेष रुपमा उनीका बस्तुहरु फेल्ट, पश्मिना, धातुका मूर्तिलगायतका सामग्री, नयाँ बस्तुहरुमा ग्लास (शिसा) बाट बनेका डेकोरेटिभ प्रोडक्टहरु, कटन, हेम्प, ढाकाका सामग्रीहरुको सम्भावना धेरै छ । यी सबै बस्तु उत्पादनमा केही प्रविधिको प्रयोग गर्ने हो भने निर्यात बढ्ने सम्भावना देखिन्छ ।

महासंघको नेतृत्व गर्नु भयो । हस्तकलाको विकासमा के योजना बनाउनु भयो ?

पहिलो योजना हस्तकलाग्राम निर्माण गर्ने हो । धेरै पहिलेदेखि हामीले सरकारसँग यसका लागि जग्गा माग गर्दै आएका छौं । धेरै जग्गा चाहिने भएकाले सरकारले उपलब्ध गराउन सकेको छैन । एकै ठाउँमा ४ सय रोपनी जग्गा पाउन गाह्रै छ । त्यसैले एकै ठाउँमा उपलब्ध नभए विभिन्न ठाउँमा लिने अवधारणा हामीले ल्याएका छौं । हाम्रो ठूलो प्रोजेक्ट यही हो ।
त्यसपछि हामीले हस्तकला विकासका लागि एउटा डिजाइन सेन्टर संचालन गर्नु पर्नेछ । यसले हस्तकलाका नयाँ नयाँ बस्तु उत्पादन, नयाँ डिजाइन, नयाँ प्रविधिको प्रयोग गर्न सघाउँछ । धेरै बस्तु परंपरागत प्रविधिमा उत्पादन गरिँदै आएको छ । त्यसले मात्र बजार धान्दैन । नयाँ बस्तु डिजाइन र उत्पादन गर्नुपर्छ ।
हातले मात्रै सबै कुरा बनाउँदा धेरै महंगो हुन्छ । उत्पादन पनि कम हुन्छ । बजारको चाहनाअनुसारका उत्पादन पनि हुन सकिरहेका छैनन् । त्यसैले हस्तकलामा अलिकति नयाँ प्रविधि पनि प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
त्यसैले हामीले हस्तकलाकै बजारलाई केन्द्रीत गरेर डिजाइन सेन्टर बनाइरहेका छौं । यसलाई सरकारसँग मिलेर स्थापना गरेका हौं । सुरुमा सरकारले २० लाख रुपैया अनुदान दिएको थियो । त्यसपछि सहयोग पाएका छैनौं । हाम्रो स्रोतले भ्याएसम्म हामीले संचालन गर्दै आएका छौं । यसपाली हस्तकला डिजाइन तथा विकास केन्द्रलाई सार्क हस्तकला डिजाइन सेन्टरका रुपमा विकास गर्न खोजी रहेका छौं । यसका लागि सरकारले ३ रोपनी जग्गा उपलब्ध गराइसकेको छ । यसको भवन निर्माणको लागि सार्क सचिवालयबाट ९० प्रतिशत अनुदान (साडे १७ करोड) उपलब्ध गराउने भएको छ । बाँकी १० प्रतिशत महासंघ र सरकारले ब्यहोर्ने छन् ।
चाँदीको निर्यात केही बर्षदेखि घटेको छ । केही बर्षअघि चादीका क्याडनियमजस्ता विषालु धातु मिसिएको पाइयो । स्वास्थ्यका लागि हानिकारक धातु मिसिएको पाइएपछि युरोपेली मुलुकहरुले अर्डर क्यान्सिल गरे । त्यसपछि माग स्वात्तै घट्यो । त्यसैले निर्यातमा टेवा पुु¥याउन सरकारसँग मिलेर परिक्षण ल्याब संचालनमा ल्याएका छौं । त्यसले चादिसहित विभिन्न बस्तुको सुद्धता परीक्षण गर्छ । यसमा जडान गरिएका मेसिन अन्तराष्ट्रिय स्तरका छन् । परीक्षणको अन्तराष्ट्रिय मान्यता पाउन सरकारमार्फत प्रयास गरिररहेका छौं ।

हस्तकलाको बजार विस्तार गर्ने योजना के छन् ?

बजार विस्तारमा हामी लागि परिरहेका छौं । सरकारले पनि प्रयास गरिरहेको छ । तर दुवैको प्रयास पर्याप्त छैन । हामीले सरकारलाई बजार विस्तारमा बजेट बढाउन भनेका छौं । महासंघले प्रमुख तीन निर्यातकर्तालाई विदेशमा हुने प्रदर्शनमा सहभागी हुँदा स्टल भाडाको ५० प्रतिशत बेहोर्दै आएको छ । पहिले सबैभन्दा धेरै निर्यात गर्ने एक जनालाई मात्रै यस्तो सुविधा दिइदै आएको थियो । निर्यात तथा ब्यापार प्रबर्धन केन्द्रसँग सहकार्य गरेर बजार प्रबर्धनको काम गरिरहेका छौं । केन्द्र, उद्योग र बाणिज्य मन्त्रालयले बस्तु विकासमा समेत सहयोग गरिरहेका छन् ।  
महासंघको सदस्य संख्या करिव १ हजार ५ सय छ । विभिन्न १५ वटा जिल्लामा संघ स्थापना भएको छ । यस्तै विशेष बस्तुहरु उत्पादन गर्नेहरुको संघ (बस्तुगत संघ) १२ वटा छन् ।  
हाम्रो पहुँच जिल्लाहरुमा विस्तार भएको छ । जिल्लामा स्थानीय, श्रोत साधन परिचालन गरेर बस्तु उत्पादन गर्दै रोजगारी सिर्जना गर्ने र गरिबी निवारणमा सहयोग पु¥याउने काम महासंघले गर्दै आएको छ ।
हस्तकलाग्रामको कुरा उठ्यो । विभिन्न स्थानमा बनाउने कुरा गर्नुभयो ? बनाउने काम कहाँ पुगेको छ ?
सरकारले गत बर्षको बजेटमा यसलाई समेटेको थियो । मुलुकका ५ विकास क्षेत्रमा हस्तकलाग्रामको अवधारणालाई स्वीकार गरेर जग्गा छुट्याइसकेको अवस्था छ । सरकार परिवर्तन भइरहेकाले यसमा ध्यान केन्द्रीत हुन सकिरहेको छैन ।
महासंघले के पहल गरिरहेको छ ?

महासंघकै पहलमा त्यो जग्गा उपलब्ध भएको हो ।

त्यसो भए छिट्टै होला ?

आशा गरौं ।
हस्तकलाको विशेष गरी बजारलाई युरोप र अमेरिकालाई मात्रै केन्द्रीत गरिएको छ । पछिल्लो समय चिनमा पनि ठूलै परिमाणमा हस्तकलाका सामग्री निर्यात भइरहेको छ । बर्षेनी २/३ हजार हस्तकलाका सामग्री उत्पादक त्यहाँ हुने

मेलामा सहभागी हुन जान्छन् । त्यतातिर बजार विस्तार गर्न महासंघले सोचेको छैन ?

छ, धेरै छ । हस्तकलाको पूरानो बजार युरोप हो । त्यसपछि पूर्वी युरोपतिर सरेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानाडा सबैतिर भइरहेको छ । त्यताभन्दा अहिले हामीले भारत र चिनमा बजार खोजिरहेका छौं । दुई/तीन बर्षदेखि चिनको बजारमा ठूलो परिमाणमा हस्तकलाका सामग्री निर्यात भइरहेको छ । त्यहा काष्ठकला, मूर्तिकला, पश्मिनालगायतका सामग्री त्यता गइरहेका छन् । त्यसैले आगामी दिनमा चिन हाम्रो बजारको केन्द्रविन्दु बन्ने सम्भावना छ ।

त्यता प्रबर्धनमा केही प्रयास भएको छ ?

छ नि । त्यहा हरेक बर्ष थुप्रै साथीहरु मेलामा सहभागी हुन जान्छन् । चिनका विभिन्न भागमा गएर उत्पादक÷निर्यातकर्ताहरुले मार्केटिङ गरिहरेका छन् । महासंघले बेइजिङ, कुनमिङ, हाङचाउमा प्रबर्धन गरिहरेका छौं ।
छिमेकी मुलुकहरुमा हस्तकलाका सामग्री निर्यात गर्दा नगद अनुदान दिइन्छ । नेपालमा पनि त्यसको सुरुआत भएको छ भनिन्छ ।

महासंघ त्यसबारे सचेत छ ?

सरकारले २ प्रतिशत अनुदान दिइरहेको छ । त्यति रकम पनि थोरैले मात्र पाउन सकिरहेका छन् । फिर्ता लिने कागजी प्रकृया निकै झण्झटिलो छ । सर्बसुलभ रुपमा निर्यात गर्ने सबैले पाइरहेका छैनन् । एकातिर यसले केही टेवा त पुग्छ । पर्याप्त भने होइन । सार्क मुलुकहरुको निर्यात अनुदान हेर्दा हाम्रो धेरै नगन्य छ । ती मुलुकहरुमा निर्यातकर्ताहरुलाई १५ प्रतिशतसम्म अनुदान दिइन्छ । हामीले सरकारलाई कमसेकम १० प्रतिशत अनुदान नभइ हुदैन भनेका छौं । यति अनुदान दिए अहिलेको निर्यातमा ३ बर्षभित्र तेब्बर निर्यात बनाइ दिन्छौं भनेका छौं । यसमा निर्यात गर्दा अनुदान छदैछ, निर्यातमा सहजीकरण पनि हुनपर्छ ।

ठूला उद्योगको जस्तो हस्तकला उद्योगले धेरै कमाएको नदेखिएला । यसको महत्व ठूलो छ । करिव १० लाख जनाले यसमा रोजगार पाएका छन् । विदेशी मुद्रा कमाउने यही उद्योग छ । ठूला उद्योग बन्द भएर कुनै सामान निर्यात नहुदा ५ अर्बसम्मको निर्यात भएकै छ । स्थानीय ब्यापारमा पनि ठूलो योगदान दिएको छ । पर्यटन उद्योगसँग सम्बन्धित भएकाले विदेशबाट आउने पर्यटकले गिफ्टका रुपमा लैजादा पनि निर्यातबाट भन्दा दुई÷तीन गुणा आम्दानी हुन्छ ।
घरघरमा सीमित लगानीबाट चलाउन सकिन्छ । स्थानीय स्रोत साधन परिचालन गर्न सकिन्छ । मुलुका सबै जिल्लामा यस्ता उद्योग खोल्न सकिन्छ । त्यसैले हस्तकला उद्योगको संरक्षण÷सम्बर्धनमा सरकार र विभिन्न संघसस्थाले ध्यान दिन जरुरी छ ।

अहिले फेयर ट्रेडको कुरा उठिरहेको छ । त्यसबारेमा महासंघ कति सचेत छ ?

फेयर ट्रेडको कन्सेप्ट निकै राम्रो हो । यसबारे हामी सचेत छैनौं भन्न मिल्दैन । नेपालमा पनि फेयर टे«डकै सिद्धान्तअनुसार उद्योग संचालन गर्नु पर्छ भन्ने मान्यतामा हामी पनि छौं । सरकारले त्यही सिद्धान्त अनुसारकै नीति नियम बनाउदै आएको छ । हामीले त्यसलाई स्वीकार्दै आएका छौं । यसलाई एकै पटक लागू गर्न भने सकिदैन । किनभने यसको सिद्धान्त अनुसार जाने हो भने घरमा काम लगाउने कुरा पनि नमिलेको हुनसक्छ । त्यसैले हामीले हस्तकलाग्रामको अवधारणा ल्याएका हौं । विस्तारै स्वच्छ ब्यवसाय कसरी संचालन गर्ने भन्ने हामीले सोचिरहेका छौं । यसमा फेयर ट्रेड ग्रुप भन्ने समुह नै लागि परेको छ । बस्तुगत संघको रुपमा उक्त समूह महासंघमा सहभागी छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको