Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्र आक्रामक : १ अर्ब ५० करोडमा रुदी ‘ए’ को निर्माण सम्पन्न

बुधबार, २४ असोज २०७५, ११ : २३ मा प्रकाशित

जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्र आक्रामक : १  अर्ब ५० करोडमा रुदी ‘ए’ को निर्माण सम्पन्न

अर्थ संसार, काठमाडौँ – पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् ।

सरकारी स्वामित्व एवम् लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रुपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् ।

केही दिन पहिले मात्रै लमजुङमा नै आयोजना स्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो ।

यस्तै दोलखामा आयोजना स्थल रहेको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो ।

यसै क्रममा लमजुङ र कास्कीको सीमानामा पर्ने रुदी ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ ।

स्थानीय रुदी खोलामा  निर्माण गरिएको ८ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनाले १५ दिन नेपाल विद्युत प्राधिकरणलाई परिक्षणको समय निःशुल्क विद्युत दिएको छ भने १ महिनाभित्र व्यवसायिक विद्युत उत्पादन थालिने आयोजनाले जनाएको छ । असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ ।  

नेपाल विद्युत प्राधिकरणसँग व्यवसायिक विद्युत उत्पादन मिति (सीओडी) गत बर्षको असारमा नै तोकिएको थियो । तर निर्माण कार्यमा केही ढिलाई भएपछि आयोजनाले व्यवसायिक उत्पादन मिति पर सारेको हो ।

 रुदी ‘ए’ जलविद्युतको २०६९ माघ २८ गते विद्युत खरिद बिक्री सम्झौता (पिपिए)  भएको थियो ।

निर्माण सुरु भएको २ वर्ष ५ महिनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

हिउँदको समय ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भएको हो ।

रु एक  अर्ब ५० करोड लागतमा आयोजना निर्माण भएको हो ।  २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३ को असारमा बाढीपहिरोले निर्माणाधिन आयोजनामा क्षति पुर्याएपछि निर्माण अवधि लम्बिएको थियो ।

त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माणकार्य प्रभावित बनेका  आयोजनाका प्रोजक्ट म्यानेजर सरोज भट्टराईले बताउनुभयो ।

विद्युतगृहमा ४ दशमलब ४ मेगावाटका २ वटा पेलटन (एभतिभल) टर्बाइन जडान गरिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका ८ सिङदीबेसीमा आयोजनाको  बाँध निर्माण गरिएको छ ।

आयोजनामा ६ किलोमिटर  लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ । मादी ९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत् परिक्षण उत्पादन सुरु गरिएको छ ।

आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन , हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इन्जिनियरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ ।

आयोजानको प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको छ ।  आयोजनामा  प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको