Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

विहीबार, २१ पुस २०७३, १० : १२ मा प्रकाशित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

अर्थ संसार
काठमाडौं–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि नयाँ शैलीको विकास गर्नुपर्ने बताए ।  राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा अर्थ तथा गृह मन्त्रालयका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पदाधिकारी तथा राजस्व संकलनसँग सम्बन्धित विभागका प्रमुखहरुसँग उनले यस्तो बताएका हुन् । 

उनले राजस्व चुहावट नियन्त्रण गर्न कार्यालयहरु अझ बढी सिर्जनशील र क्रियाशील हुन जरुरी रहेको बताउँदै कार्यरत जनशक्तिको मनोवल र क्षमता विकास गरेर राजस्व चुहावट नियन्त्रण लक्ष्य प्राप्त गर्ने दिनमा ध्यान दिन निर्देशन दिए । कार्यक्रमलाई अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार  पूण्यप्रसाद रेग्मीले राजस्व चुहावटका संवेदनशिल क्षेत्रमा आम नागरिकलाई राजस्व चुहावटबारे सचेतना कार्यक्रम संचालन गर्नु पर्ने विचार व्यक्त गरे । 

अर्थ सचिव शान्तराज सुवेदीले मूल्य अभिवृद्धि करको वृद्धिदर अपेक्षित रुपमा बढ्न नसकेकोले आन्तरिक कारोबारमा प्रभावकारी रुपमा परिचालन गर्न आन्तरिक राजस्व विभागले बजार उपस्थितिका कार्यक्रमहरुलाई थप सघन बनाउने तथा भन्सार विभागलाई न्यून विजकीकरण गर्ने प्रवृति नियन्त्रण गर्न निर्देशन दिए । उनले राजस्व चुहावट हुने गरेका नयाँ क्षेत्रहरुमा सबैले बढी कृयाशील भई आआफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । 

 त्यसै गरी अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले राजस्व चुहावट नियन्त्रण गर्न प्रणाली सुधारमा समेत ध्यान दिनु पर्ने विचार व्यक्त गर्दै यसका लागि राजस्व संकलनसँग सम्बन्धित विभागहरुका बीच एकिकृत सूचना प्रणाली स्थापित गर्नु पर्ने आवश्यकता औंल्याए । गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले सम्बन्धित सबै निकायहरुका  प्रतिनिधिहरुको संलग्नतामा टोली बनाई सुक्ष्म निगरानी गर्नु पर्ने बताए । त्यस अबसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका विभागीय प्रमुखहरुले राजस्व चुहावट नियन्त्रणमा भएका प्रयासहरुबारे आ‘आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको