Like us!
Follow us!
Connect us!
Watch us!

किन हराउँछन् पर्यटक नेपालमा ?

मंगलबार, ०९ असोज २०७५, ०५ : ०० मा प्रकाशित

किन हराउँछन् पर्यटक नेपालमा  ?

निनाम कुलुङ ‘मंगले’

कहिलेकाही नेपालमा घुम्न आएका विदेशी पर्यटक हराएको समाचार विभिन्न पत्रपत्रिकामा पढ्ने वा सुन्ने गरेका गरेका छौं । साथै त्यसरी हराएका विदेशी पर्यटकका आफन्तहरु नेपाल घुम्न आउँदा हराएका आफन्त जीवितै वा लास अथवा वेपत्ता भएको आप्mनो आफन्तको कुनै चिनो मात्रै भेट्टाएमा पनि हजारौं–लाखौं रकम पुरस्कार दिने घोषणा गर्दै हराएका आफन्तको खोजीमा नेपाल आउँछन् । जस्तो गत वैसाख–जेठमा गणेश हिमाल क्षेत्रमा दुईजना ताइवानी जोडी धेरै दिन वेपत्ता (लगभग २ महिना) भए भने, धेरै दिनपछि हराएका मध्ये महिलाको मृत्यु भयो । जीवित रहेका पुरुषको भने लगभग २ महिनामा उद्धार भएको थियो ।

पदयात्रा र पर्वतारोहणमा जाने विदेशी पर्यटकहरु बिना गाइड/भरिया आफू खुसी नक्सा र किताबको भरमा जाने हुनाले नै यो समस्या घरिघरि आउने गरेको छ । यसरी आपूmखुशी पदयात्रामा जाने विदेशी पर्यटकहरुलाई नेपालमा ‘झोले पर्यटक’ भनिन्छ भने विश्वमा खासगरी अंग्रेजी भाषामा ‘ब्याक प्याकर’ भनिन्छ ।

अर्को भाषामा यस्ता झोले पर्यटकलाई अंग्रेजी भाषामा ‘वेस्ट टुरिस्ट’ पनि भनिन्छ । जसको अर्थ उनीहरुले सम्बन्धित देश वा ठाउँमा गएर खर्च गर्ने भन्दा पनि त्यहाँको वातावरण, हावापानी, संस्कार, संस्कृति आदि दुषित बनाउने, खर्चिलो पर्यटकलाई भड्काउने लगायतका काम गर्छन् भन्ने भनाइ छ । यो भनाइ धेरै हदसम्म सत्य पनि हो । किनभने यो पंक्तिकार स्वयम् पनि ट्रेकिङ गाइड (गाइड  लाइसेन्स् नम्बर–४२४२ ‘ग्रेड ए’) हो । त्यसैले यो पंक्तिकारसँग थुप्रै यस्तो अनुभवहरु रहेको छ ।

उनीहरु पिउने पानीसमेत खोला, दह, पोखरी आदिबाट संकलन गरेर पानी शुद्ध पार्ने चक्की राखेर पिउने गर्छन् । त्यतिमात्रै होइन, कतिपय त्यस्ता झोले पर्यटकहरुले त होटल\लज र रेष्टुरेन्टमा तोकिएको मेनु (मूल्य) मा पनि सकेसम्म मूल्य घटाउन दवाव दिन्छन्, बार्गेनिङ गर्छन् । त्यस्ता विदेशी पर्यटकको संख्या वर्षमा १०\२०\३०\४०\५०\६० लाख मात्रै होइन, १० करोड नै पुगे पनि आर्थिक रुपमा नेपालीहरुले के कति फाइदा लिन सक्छन् ? विचारणीय छ ।

कहिलेदेखि हराउन थाले पर्यटकहरु ?

नेपालमा घुम्न आएका र, घुम्न जाँदा त्यतै हराएका विदेशी पर्यटकहरुका बारेमा कुरो गर्दा सर्वप्रथम २०३७ चैत १ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडीद्धय ओल्फगाग र हेनरिखे सोही वर्षको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छार्काभोट–दुनेै–ढोरपाटन–पोखरा घुम्न गएका थिए । तर, उनीहरु ६ महिनासम्म पनि सम्पर्कमा नआएपछि काठमान्डौस्थित तत्कालीन पश्चिम जर्मनीको राजदूतावासले खोजी कार्य गर्न नेपाल सरकारलाई आग्रह गर्यो ।

त्यसपछि नेपाल प्रहरीले ती जोडीद्धयको खोजी गर्दै जाँदा प्रहरीले डोल्पा जिल्लाको छर्काभोट गाउ“को एक ओढारमा दुवैजनालाई मृत अवस्थामा (लास मात्रै) भेटेका थिए । उनीहरुलाई स्थानीय केही व्यक्तिहरुले पैसा र सरसमानको लोभमा हत्या गरेका थिए । तर, अचम्म के भने, त्यो बेला तत्कालीन श्री ५ को सरकारले विदेशीहरुलाई माथिल्लो डोल्पा, मााथिल्लो मुस्ताङ, माथिल्लो गोरखालगायत धेरै हिमाली जिल्लाहरुमा जान प्रतिवन्ध लगाएको अवस्था थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रमा गएको भनी ती दुईको लास भेटिएपछिको गोरखापत्रमै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।

त्यस्तै हराएकै पर्यटकको सन्दर्भमा भन्ने हो भने २०६० मा पनि श्रीलंकन मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्फ लागेका थिए । तर, उनी धेरै लामो समयसम्म पनि सम्पर्कमा नआएपछि उनकी दिदी एना नेपाल आई खोजी कार्यमा लागेकी थिइन । उनी भेटिए–नभेटिएको बारेमा भने कुनै समाचार छापिएन । यता त्यही सेरोफेरोमा राजधानीको मुटुमै रहेको रानीवनमा पनि २०६१/२०६२ मा एक फ्रेन्च महिला सेलिना र एक जर्मन महिला ग्रुन्ची पनि महिनौसम्म हराएका थिए ।

त्यसपछि नेपालस्थित फ्रेन्च राजदूतावासले खोजी गर्दा सेलिनाको ब्रा र स्वेटर रगतले लत्पतिएको अवस्थामा भेटिएको थियो । उता ग्रुन्चीको पनि हालत त्यस्तै भयो । अर्थात् ग्रुन्चीको खोजीका लागि उनको केटा साथी र बहिनी नेपाल आएका थिए ।  त्यस्तै हराएका पर्यटकको बारेमा कुरो गर्दा सन् २००९ अप्रिल तेस्रो साता इरानका एक पर्यटककी श्रीमती पनि हराएका आफ्नो श्रीमान महमुद हरारीको खोजीमा आएकी थिइन, एकहजार अमेरिकी डलरको पुरस्कार रासी दिने घोषणासहित । तर उनको पनि अत्तोपत्तो भएन ।

यसरी हराएकै पर्यटकको कुरो गर्दा २०१० को सेप्टेम्बरमा पनि पोखराको ड्याम साइडबाट एक जापानीज पर्यटक हराएका थिए । यसरी ती जापानीज पर्यटक हराएपछि उनका बुवा आएर छोरोको सास वा लास भेटेमा एकलाख रुपैँया पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती हराएका जापानीज पर्यटकको पनि पत्तो लागेन । उता सन् २०१५ मा भूकम्पबाट क्षति भएको गोरखा क्षेत्रमा उद्धार कार्यमा खटिन आएकी इजिप्सियन मुलकी अमेरिकी महिला डालिया याहिला नामक महिला पर्यटकलाई पोखराका एक नेपालीले केही धन र यौनको लोभमा हत्या गरेका थिए ।

हुन त यो पंक्तिकारले विदेशी पर्यटकको सुरक्षा र नेपालीहरुका रोजगारीका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरिनु पर्छ भनी प्रकाश राई ‘ दीन दु : खी’को नामबाट लेख्दै आएदेखि नै आवाज उठाउ“दै÷सुझाव दिदै आएको हो । किनकि, सबै मान्छेको मन सफा हुँदैन । त्यसमाथि नेपालको भूगोल र भौतिक पूर्वाधार पनि यी झोले पर्यटकहरुका लागि अझसम्म प्रतिकूल नै छ । हुन त टान लगायत पर्यटन व्यवसायीहरुको संघसंस्थाले पनि यो माग सरकारसमक्ष राख्न थालेको छ ।

जुन खुसीको कुरो हो । झट्ट हेर्दा पर्यटकको अलिकति खर्च त बढ्ला नै । तर, उनीहरु सुरक्षित हुन्छन् भने, ढुक्कसँगले घुम्न पाउँछन् भने यसमा किन कन्जुस्याइ“ गर्ने ? फेरि माथि नै उल्लेख गरे झैं दक्षता हासिल गरेर पनि बेरोजगार भइ बसेका जनशक्ति (ट्रेकिङ/टुर गाइडहरु) ले रोजगारी पाउने कुरो पनि त छ ? फेरि यस्तो नीति नियम भुटान सरकार र चीन सरकारले कडाइका साथ लागू गरेको छ । भुटानले त अझ वर्षमा निश्चित संख्यामा मात्रै विदेशी पर्यटक भित्र्याउँछ ।

यसरी हेर्दा नेपालमा पनि अनिवार्य गाइडको नियम लागू गर्न सकेमा विदेशी पर्यटक हराउने र, कहिल्येै नभेटिने जुन समस्या छ त्यो पूर्णतः हट्छ भनेर ठोकुवा गर्न सकिन्छ । तर, यसका विरुद्धमा नेपालमा रहेका राजदूतावासका अगुवाहरु, दातृ निकायमा कार्यरत व्यक्तिहरु, आईएनजिओ\एनजिओहरु र, नेपालमा आफू खुसी टे्रकिङ लगायतका पर्यटकीय प्याकेज बेचेर गैर कानुनी ढंगले प्रशस्त कमाई गरीरहेका विदेशी गाइडहरुले समेत एक स्वरमा ‘मानवअधिकार हनन् ! ’को कुरो गर्ने गरेका छन् ।

जबकि उनीहरुको पेटबोली भने आफूखुसी डलरदाताहरुलाई गाउँ–गाउँ घुमाउनु, ट्रेकिङ्ग गराउनु आदि नै हरेको देखिन्छ । त्यसैले यस्तो गैर कानुनी कार्य रोक्नका लागि पनि नेपाल सरकारले गाइड वा भरिया बिना पदयात्रा गर्न नपाउने व्यवस्था चाँडो भन्दा चाँडो लागू गर्नैपर्ने देखिन्छ ।

[email protected]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको