Like us!
Follow us!
Connect us!
Watch us!

सेवा सहज बनाउँदै मोबाइल बैङ्किङ

विहीबार, २८ भदौ २०७५, ०८ : ४० मा प्रकाशित

सेवा सहज बनाउँदै मोबाइल बैङ्किङ

पूर्णभक्त दुवाल

काठमाडौं । बैङ्किङ क्षेत्रमा सबैभन्दा बहुउपयोगी र प्रचलित प्रविधि मोबाइल बैङ्किङ हो । गाउँघरमा लघुवित्तको रकम सङ्कलन र कर्जा वितरणमा यो प्रविधि अतिउपयोगी सावित भइसकेको छ ।

शाखारहित बैङ्किङ सेवाका लागि समेत मोबाइल बैङ्किङ वरदान सावित भएको छ । ट्याब्लेट फोनको उपयोग गरी बैङ्किङ सेवा दिइने भएकाले यसलाई गाउँघरमा ट्याब्लेट बैङ्किङ पनि भन्ने गरिन्छ । मोबाइल बैङ्किङ दूरसञ्चार सेवामार्फत वा इण्टरनेट सेवामार्फत पनि प्रयोग गर्न सकिने खालको छ । मोबाइल बैङ्किङको उपयोग गर्नेले एसएमएसमार्फत रकम झिकेको वा थपेको जानकारी पाइनै रहेको हुन्छ ।

यसबाहेक बैङ्कहरूले यो मोबाइल बैङ्किङको सहज उपयोगका लागि मोबाइल एपको नै विकास गरेका छन् । जसमार्फत ब्यालेन्स इन्क्वायरी, मिनी स्टेटमेण्ट, मोबाइल टपअप, रिचार्ज, इसेवा, फण्ड ट्रान्सफर, पेमेण्टलगायत कार्य गर्न सकिन्छ । यसबाहेक बैङ्कको सेवा सुविधा, सुरक्षालगायत जानकारी पनि लिन सकिन्छ ।

मोबाइलबाटै बैङ्कमा खाता खोल्ने, पैसा जम्मा गर्नेलगायत काम गर्न मिल्ने हुँदा बैङ्कहरूको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिससमेत बैङ्किङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैङ्किङले वातावरण बनाएको छ । वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई बिल भुक्तानी, पैसा स्थानान्तरण तथा खातामा रहेको रकमबारे जानकारी लिन सक्नेगरी प्रदान गरेको बैङ्किङ सेवा नै मोबाइल बैङ्किङ हो । नेपालका अधिकांश बैङ्कहरूले यसको सफल प्रयोग गरिरहेका छन् ।

मोबाइलको माध्यमबाट ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्ने आधुनिक प्रविधिलाई मोबाइल बैङ्किङ भनिन्छ । मोबाइल बैङ्किङमार्फत ग्राहकले एसएमएस बैङ्किङका साथै रकम ट्रान्सफर गर्न, कारोबारको जानकारी लिन, मोबाइल रिचार्ज गर्न र पीएसटीएन (ल्याण्डलाइन) टेलिफोन बिल, ‘युटिलिटी बिल्स’ (खानेपानी, बिजुली आदि) भुक्तानी गर्न सकिन्छ ।

साथै, मोबाइल बैङ्किङका माध्यमबाट ग्राहकले खातामा रहेको मौज्दात तेस्रो पक्षको खातामा रकमान्तर गर्ने, कारोबारपछि एसएमएसमार्फत सतर्कता सन्देश दिने, कारोबार विवरण ९स्टेटमेण्ट०, चेक बूकका निमित्त अनुरोध गर्नेलगायत सुविधा पनि पाउन सकिन्छ । पछिल्लो समय कतिपय बैङ्कले मोबाइलमार्फत रकम भुक्तानी सुविधा पनि दिँदै आएका छन् । यसका लागि बैङ्कले आधिकारिक एजेण्ट नियुक्त गरेर सो एजेण्टमार्फत भुक्तानी दिँदै आएका छन् ।
सन् २०११ मा मोबाइल बैङ्किङका सेवाग्राही करीब साढे २ लाख रहेकोमा अहिले करीब १५ लाख पुगेका छन् ।

मोबाइल बैङ्किङ कसरी गर्ने

बैङ्कहरूले यो सेवा निःशुल्क रूपमा वा केही वार्षिक शुल्क लिएर प्रदान गरिरहेको हुन्छ । यसका लागि उपभोक्ताले बैङ्कमा गएर यसको छुट्टै एउटा फारम भर्नुपर्ने हुन्छ ।

लिखित सन्देशहरूको सूचीका माध्यमबाट मोबाइल बैङ्किङले काम गर्ने गर्दछ । आफूले गर्न चाहेको कारोबारका लागि सर्वप्रथम निर्धारित कोडमा लिखित सन्देश टाइप गर्नुपर्छ र यो सन्देशलाई तोकिएको नम्बरमा पठाउनुपर्छ । अनुरोधकर्ताले केही क्षणभित्रै मोबाइल फोनको स्क्रिनमा लिखित प्रत्युत्तर सन्देश पाउँछन् ।

मोबाइल बैङ्किङमार्फत रेष्टुराँमा बिल, एउटा एकाउण्टबाट अर्कोमा ट्रान्सफर, ई–सेवा लोड, हवाई टिकट खरीदलगायतमा यो सेवाको प्रयोग गर्न सकिन्छ । यसको अधिकतम उपयोग गर्न जानियो भने नगद बोक्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । अधिकांश बैङ्कहरूले मोबाइल बैङ्किङको सुविधा दिने हुँदा हरेकले मोबाइलबाटै बैङ्किङ तथा वित्तीय कारोबार सञ्चालन गरिरहेका छन् ।

मोबाइल बैङ्किङ र सुरक्षा

मोबाइल बैङ्किङकोे कमजोरी भनेकै सुरक्षा हो । मोबाइल बैङ्किङ नगदरहित कारोबार भएकाले मोबाइल हराएपछि पैसा हराउने सम्भावना पनि हुन्छ । त्यसैले, बढी होशियारी अपनाउनुपर्ने हुन्छ । होशियारी र सावधानी अपनाउन सकियो भने योजतिको सुविधा र सजिलो अरू सेवामा पाउन गाह्रो हुन्छ ।

यो सेवाको उपभोग गर्नेले फोन हराउनेबित्तिकै वा चोरी हुनेबित्तिकै बैङ्कलाई जानकारी दिने वा इण्टरनेटको प्रयोगबाट डाटा इरेज गर्नुपर्छ । मोबाइलमा भएको डाटा मेट्ने र मोबाइललाई लक गर्ने सुविधा एण्ड्रोइड र आईओएसमा हुन्छ । यसका लागि पहिले नै गुगलको फाइण्ड माई फोन र आईओएसको आईक्लाउडमा रजिष्टर गर्नुपर्ने हुन्छ ।

मोबाइल बैङ्किङलाई सुरक्षित गर्ने तरीका

मोबाइल बैङ्किङ प्रयोग गर्न एकाउण्ट नम्बर, जन्ममिति, पासवर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्यान कार्डलगायत निजी तथा गोप्य जानकारी आवश्यक पर्छ । त्यसैले, यस्ता निजी विषयवस्तुलाई ह्याकरले चोरी गर्न नसकोस् भनेर सेक्युरिटी सफ्टवेयर राख्नुपर्ने हुन्छ ।

डाटाबाट मात्रै मोबाइल बैङ्किङ

डाटाबाट मोबाइल बैङ्किङ चलाउँदा बढी सुरक्षित भइन्छ । निःशुल्क रूपमा प्राप्त हुने वाइफाइमा बढी खतरा हुन्छ । वाइफाइको माध्यमबाट मोबाइल बैङ्किङ चलाउँदा वाइफाइ प्रोभाइडरले डाइरेक्ट एक्सेस पाउने हुन सक्छ । वाइफाइको माध्यमबाट डाटा तथा जानकारी ह्याक हुन सक्छ । सार्वजनिक रूपमा उपलब्ध वाइफाइले भाइरस पठाउने सम्भावना पनि उत्तिकै रहन्छ ।

शक्तिशाली पासवर्ड वा एप्स लक

मोबाइल बैङ्किङ उपयोग गर्नेले मोबाइललाई पासकोड वा पासवर्डले सुरक्षा गर्नैपर्ने हुन्छ । कसैले ख्याल ठट्टाको नाममा मोबाइल खोलेर रकम ट्रान्सफर गर्ने वा चोरी गर्न सक्ने भएकाले मोबाइलमा पासकोड वा पासवर्ड राख्नुपर्ने हुन्छ । साथै, मोबाइल बैङ्किङको एप्सलाई पनि लक गर्नु बढी बुद्धिमानी हुन्छ । मोबाइल बैङ्किङको पासवर्ड र पासकोडलाई समयसमयमा परिवर्तन गर्दा बढी सुरक्षित हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको