Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

बुधबार, २० भदौ २०७५, ०८ : ३० मा प्रकाशित

स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

अर्थ संसार, काठमाडौँ–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ ।

स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो ।

विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो ।

एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली ९जीआईएस०, जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको नक्शासहितको वस्तुगत विवरण र सम्पर्क विवरण, ऐन कानून निर्देशिका, आपतकालीन नम्बर र योजना तथा परियोजनाका बारेमा जानकारी राख्न सकिनेछ ।

स्थानीय तहले आफ्ना वेबसाइटमा राखेका सम्पूर्ण जानकारी एप्समार्फत नै पाइनेछ । एप्स प्रयोगकर्ताले स्थानीय तहले नागरिक बडापत्रअनुसार प्रदान गर्ने सम्पूर्ण सेवाको विवरण एकै क्लिकमा प्राप्त गर्नेछन् । सेवा प्राप्त गर्न लाग्ने समय, जिम्मेवार अधिकारी, सेवा दिने कार्यालय, सेवा शुल्क, आवश्यक कागजात र प्रक्रिया तथा नमूना फारामसमेत एप्समार्फत जानकारी मिल्ने मन्त्रालयका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

कार्यक्रम तथा परियोजनाको विवरण प्राप्त गर्न, अध्ययन र सुरक्षित राख्न सहयोग मिल्ने छ । स्थानीय तहअन्तर्गत रहेका महत्वपूर्ण स्थानजस्तै अस्पताल, शैक्षिक संस्था, पर्यटनस्थल आदिको विवरण पनि एप्समार्फत थाहा पाउन सकिनेछ । स्थानीय तहले कुनै प्रसङ्गमा जनतासँग जनमतसमेत लिन सक्ने गरी एप्सको विकास गरिएको छ ।

एप्स प्रयोगकर्ताले स्थानीय तहअन्तर्गतका समस्या र सुझाव सम्बन्धित निकायमा दर्ता गराउन सक्नेछन् । एप्समार्फत दर्ता भएको समस्या जिम्मेवार कर्मचारीले हेरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सकिनेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको