Like us!
Follow us!
Connect us!
Watch us!

किन चिन्ता ?

आइतबार, १७ पुस २०७३, ०९ : ५४ मा प्रकाशित

किन चिन्ता ?


‘चिन्ताले मानिसलाई चितामा जलाउँछ’, विद्यालय पढ्दा सप्रसङ्ग व्याख्या गरियो । त्यो समय शिक्षकको सहायताले उतर लेखियो । नबुझी रटियो । परीक्षामा लेख्नकै निम्तिमात्र तयारी गरियो । गहिराइमा सोच्ने दिमाग निभेको मैनजस्तै थियो त्यो समय ।सानो बालक आफूले चाहेको गर्न नपाएकोमा चिन्तित छ । आफूभन्दा ठूलो झोला बोकेर विद्यालय जाऊ, दिनभर शिक्षकको अधीनमा बस, बेलुकी घर आएर गृहकार्य गर, फेरि बिहान उठेर पढ । अचेल बाल उमेरमा यस्तै चिन्ताले पेलिन्छ मान्छे ।

जब उमेरसँगै जवानीले पाइला टेक्छ, अरुभन्दा होचो भएकोमा चिन्ता लाग्छ । आफूभन्दा सानो भाइ अग्लो हुन्छ । सबैले तिम्रो दाइ हो भनेर सोध्दा झनै चिन्ता बढ्छ । सगरमाथाको अग्लो उचाइले पनि दिनहँु जिस्काइरहेको भान हुन्छ । बजारमा जति भौतारिँदा पनि आफ्नो रोजाइअनुसारको कपडा नभेट्दा चिन्ताले पिरल्छ अग्लाहरूलाई । शारीरिक रुपमा अग्लो भए पनि मानसिक अग्लो बन्न नसकेको ज्वालाले पोल्छ उसलाई । सानो माइक्रो बसमा चढ्दा ठोकिने टाउकोले पिरल्छ अग्लाहरूलाई ।

परीक्षामा पास भयो, अब कुन विषय पढौँ भन्ने चिन्ता, फेल भयो साथीभाइ, आफन्तले जिस्क्याउलान् भन्ने चिन्ता । नर्सिङ पढ्यो, नाइट ड्युटीमा खट्नु पर्ने चिन्ता, पत्रकारिता पढ्यो धम्की र त्रासमा दिनरात खटिनुपर्ने चिन्ता ।
आफ्नो बिजनेस सुरु ग‍र्याे घाटामा जाला कि भन्ने चिन्ता । अरुको कम्पनीमा काम ग‍र्यो भनेको समयमा छुट्टी नपाउने चिन्ता । सबै मानिसमा एउटा न एउटा चिन्ताले बास गरेको हुन्छ । धनीलाई धन कसरी सुरक्षित राखूँ भन्ने चिन्ता, गरिबलाई कसरी दुई छाक टारूँ भन्ने चिन्ता । सन्तानविहिनलाई बाबुआमा बन्न नसकेकोमा चिन्ता, सन्तान भएकालाई आफ्ना सन्तान बिरामी भएर, परीक्षामा फेल भएर, धेरै चकचक गरेर, गलत बाटोमा हिडेर यस्तैयस्तै कुराको चिन्ता ।

जागिरेलाई हाकिमको धम्कीले चिन्ता, जागिर नपाउनेलाई कता आफ्नो बायोडाटा बुझाऊँ भन्ने चिन्ता । ब्वाइफ्रेड भएकाहरूलाई दैनिक भेट्न नसकेकोमा चिन्ता, गलफ्रेन्ड नभएकालाई एउटी केटी पट्याउन नसकेकोमा चिन्ता । प्रत्येक मानिसमा एउटा न एउटा चिन्ता लुकेर रहेको हुन्छ तर सबैलाई आफूमात्र चिन्तित छु भन्ने लाग्छ । चिन्तालाई पकेटमा लुकाएर बनावटी दुनियाँमा हाँसी रहन्छ मान्छे ।

मनभित्र धेरै दुःख भए पनि अरुको अगाडि प्रफुल्ल भएर हास्ने स्वभाव धेरैको हुन्छ । हुन त अरुको अगाडि दुःख देखाएर के नै हुन्छ र ? आखिर आफू एक्लैले त्यसको समाधान गर्नुपर्छ । साना कुरामा चित दुख्छ । अरुको भनाइले नरमाइलो लाग्छ । वर्तमानमा भन्दा पनि विगतका स्मृतिले धेरै चिन्तित बनाउँछ ।

धेरै पहिलेको कुरो हो, एक युवकसँग अन्जानमा प्रेमको भावना उजागर भएको थियो रमिलाको । उनी आफ्ना पुराना साथीभाइ र आमाबाबालाई छोडेर सुन्दर भविष्यको खोजीमा सहर आएकी थिइन् । कोलाहल सहर, प्रदुषित वातावरण, एक मानिसले अर्को मानिसको वास्ता नगर्ने व्यस्त दैनिकी, बेग्लै माहोलमा भिज्न निकै कठिन थियो । जुन कल्पना बोकेर रमिला सहर पसेकी थिइन्, त्योभन्दा बेग्लै माहौल सडकमा थियो । मुखले सहयोग गरिदिन्छु भन्ने सयौँ भेटिए पनि व्यवहारमा सहयोग गर्ने केबल एक, दुई जना भेटिन्थे ।

नयाँ कलेजमा नौला साथीसँग परिचय हुने क्रममा रमिलाको रोसनसँग भेट भएको थियो । सुरुका दिनमा सामान्य परिचय हुँदै एउटै बेन्चमा बस्न सुरुआत भएको थियो । भेटघाटको छोटो अवधिमै मनमा धेरै रहर र इच्छाका टुसा पलाउँदै थिए । घर जाँदा–आउँदा दुवै जना सँगै हुन्थे । कहिलेकाँही कलेज छाडेरसमेत सिनेमा हेरेर मज्जा लिने गर्थे । दुवैजनाको मनमा मायाको छाँया परेता पनि त्यो माया व्यक्त गर्न सकेका थिएनन् । विरानो सहरमा रमिला आत्मीय साथी भेटेको आभास गर्थी भने रोशनले टाइम पासका लागि साथी बनाएको थियो । ऊ केही समयपछि नै विदेश जाने तयारीमा थियो । रमिलाले मन, मुटुमा उसलाई सजाएर सपना बुन्न थालेकी थिई ।

एकदिन आफ्ना मनका कुरा व्यक्त गर्ने क्रममा रमिलाले नै रोशनलाई प्रपोज गरेकी थिइ । रोशनले सिधै रिजेक्ट गर्दै आफनो विदेश जाने योजना सुनाएको थियो । केही समयपछि नै रोशनको भिसा आयो । ऊ विदेश गयो । रमिला एक्ली भई । छोटो समयमै मनमा पलाएको माया विकसित हुन नपाएको चिन्ताले पिरोल्छ रमिलालाई ।
जीवनको यात्रामा होमिँदा धेरै चिल्ताले पिरोल्छ । त्यही चिन्ताको कारण धेरै मानिसमा विभिन्न रोगसमेत लाग्छन् । चिन्ता लाग्ने धेरै कारणमध्ये यो केवल सानो उदाहरणमात्र हो । यस्ता हजारौँ घटना छन, जसले मानिसलाई चिन्तित बनाउँछ ।

चिन्ता हटाउने उपाय छैन ? यस्तो कुरा विज्ञानले पत्तो लगाएको हुँदो हो त कोही किन चिन्तित हुँदो हो र ? यद्यपि यसलाई कम गर्न भने नसकिने हैन । चिन्तालाई कम गर्न चिन्ता लिनुको कारण पहिल्याउन पर्छ । मन न हो, बहकिएर हिँड्छ । चिन्ताको कारण थाहा पाएर पनि अचेतन मनले चेतन मनलाई काबुमा राख्दा चिन्ता बढ्ने हो ।
यस्तो अबस्थामा चेतन मनले जित्ने वातावरण सिर्जना गर्न पर्छ । आफूलाई चिन्ता उत्पन्न गराइदिने अबस्था सिर्जना भए त्यसभन्दा बढी खराव परिस्थितिसँग जुधेका मानिसहरुलाई उदाहरणका रुपमा चिन्ता कम गर्न सकिन्छ ।

गर्लफ्रेन्ड नभएकामा चिन्तित हुनेहरुले गर्लफ्रेन्ड हुनेहरुले भोगेको पीडा हेरेर मन सम्झाउने प्रयास गर्नु पर्छ । होचो भएकामा चिन्तित हुनेहरुले संसारकै होचो ब्यक्ति चन्द्रबहादुर डाँगीले विश्व कीर्तिमान कायम गरेको हेरेर मन बुझाउनु पर्छ । अग्लो भएर बसमा टाउको ठोकिनेहरुले अग्लो हुँदा लिएका फाइदाहरुलाई भुल्न हुँदैन ।त्यसैले चिन्तालाई सकेसम्म टाढा भगाऔं, चिन्ता बिहीन भएर बाँचौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको