अर्थ संसार, काठमाडौं–  नेप्से परिसूचकमा आएको गिरावटका कारण सेयर बजार कारोवार गर्ने बुटवलस्थित ब्रोकर (सेयर) कार्यालय सुनसान जस्तै देखिन थालेका छन् ।
लगानीकर्ताको भिडभाड बढ्ने ब्रोकर कार्यालयमा लगानीकर्ताको चहलपहल कम देखिन थालेको ब्रोकर कार्यालयले जनाएको छ । यो साताभर बजार तल ओर्लेका कारणले लगानीकर्ता निराश भएको दक्षिणकाली इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली (३३ नं ) का शङ्कर भण्डारीले भन्नुभयो ।
उहाँले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको उल्लेख गर्दै लगानीकर्ताको मनोविज्ञानले बढनुपर्ने अहिलेको अवस्थामा पनि नेप्से परिसूचक बढ्न नसकेको बताउनुभयो ।
भण्डारीका अनुसार यो साता इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली, बुटवलबाट कूल रु ४२ लाख ६५ हजार ७५ बराबरको मात्रै शेयर कारोबार भएको छ । तर गत साता सो सेक्युरिटिजबाट ३६ लाख दुई हजार ३६९ बराबरको मात्रै कारोवार भएको देखिएको छ । यसले मोफसलमा पनि शेयर बजारमा गिरावट आएको देखाएको छ ।
आर्यनतारा इन्भेष्टमेण्ट बुटवल (५७ नं) का टेकराज भट्टराइले सेयर बजार कुन कम्पनीले कस्तो लाभांश दिन्छन्, भन्ने पर्खाइमा रहेको हुनसक्ने अनुमान गर्दै बजारमा कम्पनीले दिने नगद लाभांश भन्दा बोनस शेयरमा आर्कषण रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेप्से परिसूचक राताम्मे भएको बेला लगानीकर्ताको मनोवल कमजोर भएको र बजारमा हरियाली छाउँदा लगानीकर्ता सक्रिय देखिएको बताउनुभयो । भट्टराइले यो साता सेक्युरिटिजबाट रु एक करोड ७१ लाख ६३ हजार ४४१ सेयर कारोबार भएको जानकारी दिँदै बजार पहिलेको भन्दा केहि घटेको छ, भन्नुभयो ।
“जवकी सो सेक्युरिटिजबाट गत साता (चार दिन) रु एक करोड ६० लाख ९४ हजार ६४३ कारोवार भएको थियो । सेयर बजारमा क्रण लगानी पनि छैन, विश्वासिलो वातावरण पनि बनेन सेक्युरिटिज प्रालिका भट्टराइले भन्नुभयो ।”
त्यस्तै बुटवलमा एशियन सेक्युरिटिज, मिडास सेक्युरिटिज लगायतका अन्य विभिन्न ब्रोकर कार्यालयले पनि शेयर खरिद बिक्रीको कारोवार गर्दै आएका छन् । बुटवलमा रुपन्देहीबाहेक नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउँछन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस