Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानको मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

बुधबार, ०९ साउन २०७५, १४ : ४३ मा प्रकाशित

पाकिस्तानको मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

अर्थ संसार, काठमाडौँ – पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।

मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।

पाकिस्तानमा आज बिहानदेखि संसदीय निर्वाचनको लागि कडा सुरक्षाबीच मतदान हँुदैछ ।

राष्ट्रिय सभा, संसदको तल्लो सदन र चारवटा प्रान्तीय विधान सभाको लागि आजको निर्वाचन हुन लागेको हो ।

आगामी पाँच बर्षको लागि नयाँ सरकारको चयन गर्न सर्वसाधारण बुधबार बिहान सबेरैदेखि मतदान स्थलमा पुगेका छन् ।

यस निर्वाचनपछि देशमा आर्थिक उत्थान र राजनीतिक स्थायित्वको आशा सर्वसाधारणले गरेका छन् । मतदान स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको र साँझ ६ बजेसम्म जारी रहने छ ।

यहाँको प्रतिनिधि सभा अर्थात संसदको तल्लो सदन ३४२ सदस्यीय रहेको छ जसमा २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधि सभाको लागि ३ हजार ४५९ जना उम्मेदवार रहेका छन्

यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीय सभाको लागि ५७७ सिट रहेको र ८ हजार ३९६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनमा करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएका छन् । यसमा करिब ६ करोड पुरुष रहेका छन् ।

जनसङ्ख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रुपमा रहेको पाकिस्तानको यस पटकको संसदको चुनाव निकै चर्चित रहेको छ ।

यस निर्वाचनको पूर्व सन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।

निर्वाचनको मुखैमा आएर उहाँलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरुको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ ।

पाकिस्तानको सत्तामा समेत पकड रहेको शक्तिशाली सेनाले यस निर्वाचनमा के कस्तो भूमिका निर्वाह गर्ला अथवा सेनाले नै आफू अनुकूलको परिणामका लागि चुनावमा हस्तक्षेप गर्ने हो कि भन्ने पनि यहाँ व्यापक रुपमा चर्चा भएको थियो ।

तर सेनाले चुनावमा आफ्नो कुनै भूमिका नरहने स्पष्ट गरिसकेको छ । यसबाट पनि आशङ्का नमेटिएको यहाँका राजनीतिक जानकारहरु बताउँछन् ।

त्यसैगरी आतङ्ककारी गतिविधिबाट प्रताडित पाकिस्तानमा अहिले पनि चुनावलाई केन्द्रित गरेर हिंसाका घटना भएका छन् ।

यस्तो हिंसामा परी १५० जना भन्दा बढीको ज्यान गइसकेको छ । छिटपुट हिंसाका घटना जारी नै छन् । त्यसैले पनि आजको मतदानका लागि सेनाको अगुवाइमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको